ओस्करबाट विनोदको राजीनामा


काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई चलचित्र सम्बन्धी अध्ययन–अध्यापन गराउने मुलुकमै पहिलो ओस्कर इन्टरनेसनल कलेजका प्रिन्सिपल विनोद पौडेलले राजीनामा दिएका छन् ।
कलेजको सिइओसमेत रहेको चलचित्र निर्देशक पौडेलले चलचित्र निर्देशनमा फर्कने तयारीका लागि भन्दै दुवै पदबाट राजीनामा दिएका हुन् ।
१० वर्ष अगाडि शिक्षकको रूपमा कलेज प्रवेश गरेर सिइओ तथा प्रिन्सिपलको जिम्मेवारी सम्हालिरहेका पौडेलले कलेजमा नयाँ सोचसहितको पुस्ता नेतृत्वमा आउनुपर्छ भनेर बाटो खुला गरेको बताएका छन् । उनी भन्छन्, ‘कलेजलाई एउटा स्थानमा पु¥याउन आवश्यक थियो ।
नेपालमा फिल्म कलेज चल्न सक्दैन भनेर त्रिविले ओस्कार कलेजको सम्बन्धन नै खारेज गर्ने अवस्थामा हामीले एउटा स्थानसम्म पु¥यायौँ ।’ उनले आफूले एमविए र फिल्म मेकिङ पढेकाले कलेजलाई चलाउन सकिन्छ भनेर म्यानेजमेन्ट टिमसँग ६ महिनाको समय मागेको स्मरण गर्दै आज कलेजलाई एउटा लेभलमा पु¥याउन सकेको महसुस भएको बताएका छन् ।
आफूले आर्थिक समस्याका कारण लण्डनमा फिल्म मेकिङ पढ्न नसकेपछि नेपालमै कम पैसामा फिल्म कलेज स्थापित गर्ने ठूलो सपना बोकेको पौडेलले जानकारी दिएका छन् । उनको यही सपनाले ओस्कार कलेज आज चलचित्र पढ्न चाहनेको पहिलो रोजाइ बनेको विश्लेषण गर्ने गरिन्छ ।
चलचित्रप्रति समाजको सकारात्मक दृष्टिकोण विकास गर्न ओस्कार कलेज हाँक्ने जिम्मेवारी उठाएको भन्दै उनले आफू केही हदसम्म सफल भएको बताएका छन् ।
उनी भन्छन्, ‘म ओस्कार कलेजमा आउँदा विद्यार्थीहरू परिवारसँग ढाटेर पढ्न आउँथे । त्यो देख्दा नराम्रो लाग्थ्यो । तर, अहिले परिवार आफैँ कलेजमा आफ्नो बच्चालाई भर्ना गर्न आउनुहुन्छ । यो भनेको समाजका लागि ठूलो फड्को हो । पहिला मैले फिल्म पढिरहेको छु भन्दा धेरैले विश्वास गर्दैन थिए । यो पनि पढ्ने विषय हो र भन्थे । तर, अहिले फिल्म सम्मानित विषय बनेको छ ।’
पौडेलले अब आफू फिल्म मेकिङमा केन्द्रित हुने तयारीमा रहेको बताएका छन् । फिल्म ‘बुलबुल’ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वाहवाही बटुलेका उनी अहिले भुटानी शरणार्थी र सहरमा अवसरको खोजीमा रहने युवाको कथामा फिल्म निर्माण गर्ने तयारीमा छन् ।

Published On: Time : 3:33:05  

तपाईको प्रतिक्रिया