गौरिकाको राष्ट्रिय कीर्तिमान


काठमाडौं– जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
नेपालका पौडीबाज गौरिका सिंहले ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउँदा खुशी लागेको बताएकी छिन् । ’एकदम खुशी लागेको छ । राम्रो स्वीमिङ गरे । खासै टाइमको टार्गेट थिएन । जति सक्दो राम्रो गर्ने थियो,’ गौरिकाले भनिन् ।
गौरिकाले कोभिडको कारण लङ कोर्समा तयारी गर्न नपाएको कारण केहि गार्हो भएको बताईन् । ‘कोभिडको कारणले लङ कोर्समा तयारी भएको थिएन । लङ कोर्स र सर्ट कोर्समा फरक हुन्छ । मेरो सर्ट कोर्समा राम्रो हुन्छ,’ उनले भनिन् ।
ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

Published On: Time : 3:35:23  

तपाईको प्रतिक्रिया