एन्फाको आकस्मिक शुक्रबार बैठक बस्दै


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । एन्फाका प्रवक्ता किरण राईले कार्यसमितिको आकस्मिक बैठक शुक्रबारका लागि डाकिएको जानकारी गराए ।
एन्फा कम्प्लेक्समा बस्ने बैठक अपरान्ह ४ बजेका लागि डाकिएको राईले बताए । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ ।
मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका थिए । तर, उनले औपचारिक रूपमा एन्फालाई राजीनामा पत्र भने बुझाएका थिएनन् । नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
यस्तै नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

Published On: Time : 3:36:15  

तपाईको प्रतिक्रिया