नेप्सेमा झिनो अंकको वृद्धि, लगानीकर्ताको हितका लागि अध्ययन समिति गठन


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।

कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेको छ । यस्तै, जलविद्यसत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयरधनीले ४.०७ प्रतिशतले कमाए । त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, यूनिभर्सल पावर ५.१३ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसंगतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिएका थिए ।

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको छ । समितिलाई समग्र शेयर बजारको विकृतिबारे समेत अध्ययन गर्ने गरी कार्यादेश दिइएको छ । समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

पत्रकार सम्मेलनमा रु १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने, ‘समग्र लगानीकर्ताको हितका लागि नै काम गर्नेगरी अध्ययन समितिले काम गरिरहेको छ ।’

Published On: Time : 3:11:43  

तपाईको प्रतिक्रिया