महिला फुटबल टिम उज्वेकिस्तान प्रस्थान


काठमाडौं —नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान गएको छ । एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगिताका लागि नेपाली महिला टिम सोमबार राती ११ बजे टर्कीको इस्तानबुल हुँदै उज्जेकिस्तान प्रस्थान गरेको हो ।

त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीलाई बिदाइ गरेको थियो । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गरिसकेको छ । तर, डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमण गुमाउने छन् । मुटुको समस्या देखिएपछि उनी टिममा छैनन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ ।

उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Published On: Time : 3:13:46  

तपाईको प्रतिक्रिया