निर्देशक दाहाललाई सम्मान


अमेरिका (क्यान्टकी) – चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाललाई सम्मान गरिएको छ । स्थानीय संस्थाहरू इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएन क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक दाहाललाई विदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याएकाले सम्मान गरिएको हो ।

उनले प्रवासमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्दै आएका छन् । उनी विगत पाँच वर्षदेखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोस्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्‍याएको ठहरसहित एनआरएनए क्यान्टकीका पूर्वअध्यक्ष दिलु पराजुलीसहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई पनि ‘एनआरएनए मुभमेन्ट सम्मान’बाट सम्मानित गरिएको छ ।

यस्तै, नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयंसेवकहरू सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई ‘युथ स्पोर्ट अवार्ड’ प्रदान गरियो । यस्तै, निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१सम्म हाइस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

एनआरएनए आइसिसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए आइसिसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसिसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थीरलाल अर्याल, नेपाल अमेरिका सोसाइटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्ज‘न थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थिति थियो ।

Published On: Time : 3:18:29  

तपाईको प्रतिक्रिया