मलेसिया र खाडी जानेबाट ठूलो अपेक्षा गर्नु गलत : डा.गुरुङ


काठमाडौं– श्रम विज्ञ डा.गणेश गुरुङले रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा गएका युवाबाट राज्यले ठूलो आस गर्न नहुने बताएका छन् । मलेसिया तथा खाडी मुलुकमा रोजगारीमा जानेहरुको उद्देश्य नै घर परिवार चलाउनु भएकाले उनीहरुबाट आएको रेमिट्यान्स सदुपयोग भएन भन्नु नै गलत हुने डा. गुरुङले बताएका हुन् ।

नेपालमा गरेको खेतीपातीले वर्षभरि खान नपुगेपछि रोजगारीका लागि खाडी तथा मलेसियामा रोजगारीका लागि गएकाहरुबाट उद्योगको स्थापना गर्ने अपेक्षा गर्नु राज्यको कमजारी भएको उनले बताएका छन् । उनीहरुको पहिलो प्राथमिकता भनेको नै परिवार पाल्नु हो, जसअनुसार अहिले विदेशमा कमाएको रकम यहि अनुरुप खर्च भइरहेको गुरुङले बताए । खाडीमा रोजगारीका लागि जानेहरुको लक्ष्य भनेको परिवारका आवश्यक पूरा गर्ने भएकाले अहिले उनीहरुले पठाएको रेमिट्यान्स पनि सोहीअनुसार खर्च भइरहेको उनले बताए । डा.गुरुङले भने, ‘ऋण खोजेर विदेश गएकाहरुले पठाउको पैसाले ऋण नतिरेर उद्योग खोल्दिन्छ भनेर आस गर्नु बेकार हो ।’

‘अभावको जीवनबाट छुट्कारा पाउनका लागि विदेश जाने श्रमिकले परिवार पाल्ने भइसकेपछि उसको परिवारले राम्रो लुगा लगाउला, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने सोच्ला, अनि खरको छानो फेरेर जस्ताको छानो लगाउने सोच्ला, त्यसभन्दा पछि गाउँबाट नजिकको सहरमा जग्गा किनेर घर बनाउने सोच्ला उसको लक्ष्य नै त्यही हो त अनि कसरी अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने ?’ उनको प्रश्न थियो । रोजगारीमा गएकाहरुले आफ्नो आवश्यताअनुसार खर्च गरेको र सोही आवश्यकता पूर्तिका लागि उनीहरु विदेश गएको डा.गुरुङले बताएका छन् । उनले भने, ‘विदेशमा गएर पसिना बगाउने युवाहरुको पैसाको योजना सरकारले बनाएकाले उत्पादनमूलक नभएको केही अर्थशास्त्रीहरुले भनाइ मात्रै हो, उनीहरुले कमाएको पैसा उनीहरुले आफ्नो आवश्यता अनुसार खर्च गरेका मात्रै हुन् ।’

सबै क्षेत्रमा नकारात्मकता भन्ने हुने भन्दै केही व्यक्तिले आवश्यकता नभएको क्षेत्रमा खर्च गरेका हुन सक्ने तर नेपालमा लगानी गर्नका लागि पनि प्रतिफल आउने कुराको कुनै ग्यारेन्टी नहुनुले पनि विदेशमा कमाएको रकम लगानी गर्न व्यक्ति डराउने गरेको डा. गुरुले बताएका छन् । राज्यले प्रतिफल प्राप्त हुने ग्यारेन्टी गरेको खण्डमा लगानी हुन सक्ने तर यहि अवस्थामा किन लगानी भएन भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए ।

कोभिड महामारीको समयमा रेमिट्यान्स बढेकोप्रति पनि उनले भित्री कुरा बताएका छन् । रोजगारीमा श्रमिक नगएको अवस्थामा पनि रेमिट्यान्स बढ्नुले कोभिडअघि गैरकानुनी रुपबाट रेमिट्यान्स आएको पुष्टि भएको डा.गुरुङले बताएका छन् । कोभिडको बखत ती गैरकानुनी बाटाहरु (जस्तै हुन्डलगायत) बन्द भएकाले रेमिट्यान्स भित्र्याउन वैध बाटो अपनाएका कारण रेमिट्यान्स बढेको देखिएको उनको दाबी छ । यसका अलावा कोभिडको समयमा नेपाल फर्कनेहरु फेरि विदेश नजाने गरी सबै रकम लिएर फर्केनु तथा कोभिडको समयमा जिन्सी सामानहरु ल्याउन नपाएका कारण नगद आएकाले पनि रेमिट्यान्समा वृद्धि भएको हुने सक्ने उनले बताए ।

Published On: Time : 3:26:40  

तपाईको प्रतिक्रिया