ओमानसँग नेपाल पराजित


काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ । मंगलबार मध्यराती सम्पन्न खेलमा घरेलु टोली ओमानले नेपालले दिएको १९७ रनको लक्ष्य ३१.१ ओभरमा ५ विकेट गुमाउँदा २०० रन बनाएर पूरा गरेको छ । नेपालका तर्फबाट स्टार बलर सन्दीप लामिछाने फिल्डिङका क्रममा घाइते भएपछि नेपाल समस्यामा परेको थियो । उनी ओमानसँगको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएर मैदान छाड्न बाध्य भएका थिए । उनको पेट दुखेको जनाइएको छ । यस खेलमा खेल्न नसकेका लामिछानेले अर्को खेल भने खेल्न सक्ने जनाइएको छ ।

ओमानका लागि ओपनर ब्याट्म्यान जतिन्दर सिंहले विस्फोटक पारी खेले । उनले ६२ बलमा १०७ रनको विशाल पारी खेलेका थिए । उनलाई कुशल मल्लले रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।
त्यस्तै ओमानका लागि मोहम्मद नदीमले अविजित ३८, आयान खानले १८ रन बनाएका थिए भने सुरजकुमारले २० रन बनाएका थिए । त्यस्तै सोयब खान ले ७ रन बनाउँदा कप्तान जिसान मकसुदले ४ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि कुशल मल्ल र करण केसीले २-२ विकेट लिए भने सुसन भारीले १ विकेट लिएका थिए । त्यसअघि ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सक्यो । नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आशिफले ७ चौका र १ छक्काको मदतले १ सय १२ बलमा सो रन बनाएका हुन् । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् ।

ओमानविरुद्ध शतकमा चुकेपनि आशिफ उच्च स्कोर बनाउने ओपनर बने । आशिफको ब्याट चलेपनि अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके । करन केसीले २१ रन बनाए । सुसन भारी २ रनमा अविजित रहे । नेपालले ७ रन अतिरिक्त प्राप्त गरेको थियो ।

नेपालका ब्याट्सम्यानमाथि दबाब बनाएका ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए । निस्टोर धाम्बाले २ विकेट लिएको खेलमा जिशान मकसुद र मोहम्मद नदीमले एक एक विकेट हात पारे । ओमानका आयान खान किफायती रहे । उनले १० ओभरमा २ मेडन राख्दै मात्र २९ रन खर्चिए ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यसअघि, लिग–२ को सिरिज अन्तर्गतनै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । लिग–२ विश्वकप छनोटको एक रूप हो । लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

Published On: Time : 3:16:10  

तपाईको प्रतिक्रिया