टुल्कीको टिजर रिलिज


काठमाडौैं– बहुपति प्रथामा आधारित नेपाली कथानक चलचित्र टुल्कीको फस्र्टलुक र टिजर सार्वजनिक गरिएको छ । लमजुङ, गोरखा, लमजुङ, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पालगायतका गाउँमा अझै कायम रहेको बहुपति प्रथाको कथामा आधारित भएर निर्माण गरिएको चलचित्रको टिजर सार्वजनिक गरिएसँगै निर्माण टिम प्रचारमा जुटेको छ ।

चार वर्षको अध्ययनपछि लकडाउनको समयमा माथिल्लो डोल्पामा सुटिङ भएको फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमका बीच फस्र्टलुक पोस्टर र टिजर सार्वजनिक गरियो । डोल्पाको तल्लो भागमा बसोबास गर्ने ब्राह्मण परिवारमा जन्मिएकी एक युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेर गएपछि उनले भोग्नु परेको पीडा र व्यथालाई ट्रेलरमार्फत देखाउन खोजिएको छ ।

फिल्मको टाइटल क्यारेक्टरमा स्वस्तिमा कार्की छिन् । उनले यही फिल्मबाट नायिकाको रूपमा डेब्यू गर्न लागेकी हुन् । देवजंग थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ । ९० लाखमा बनेको फिल्मलाई निर्देशक थापाले नै छायांकन गरेका हुन् । लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको निर्मातामा आर.पि कर्माचार्य र शेखर लामा निर्माताको रूपमा छन् ।

फिल्मलाई नेपालभन्दा पहिला विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिने निर्माता शेखर लामाले बताए । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मेवारी श्रीदेव विएलले लिएका छन् । सबैभन्दा पहिला फिल्म यूकेमा प्रदर्शन हुनेछ । कलाकार शिशिर वाङ्देलले यो फिल्म आफ्नो करिअरको टर्निङ पोइन्ट हुनसक्ने बताएका छन् । उनले कार्यक्रममा भने, ‘मैले आजसम्म यति पृथक विषयवस्तु र भूमिकामा काम गरेको थिइनँ । यो साँचिक्कै माटो सुहाउँदो फिल्म हो । यो फिल्म प्रदर्शन भएपछि मलाई भोलिका दिनमा यसप्रकारका भूमिकाबाट अफर आउन सक्ने सम्भावना देख्छु । यसले गर्दा यो मेरो करिअरको टर्निङ पोइन्ट हुन सक्छ ।’

घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने प्रथा नै बहुपति प्रथा हो । श्रीमतीकै रूपमा स्वीकार गरे पनि उनीहरूले भाउजू भन्ने गर्छन् । यही प्रथामाथि आधारित भएर फिल्म ‘टुल्की’ निर्माण गरिएको हो ।

Published On: Time : 3:31:25  

तपाईको प्रतिक्रिया