उपत्यकामा निषेधाज्ञा कायमै


काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई १ असोजपछि पनि कायमै राखिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन् । कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरी यसअघि नै आदेश जारी गरिएको थियो । स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनका सबै प्रोटोकल पालना गरी भिडभाड नगरी सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको यसअघिको आदेशलाई कायमै राखिएको छ । आदेशमा अनावश्यकरूपमा मानिस जम्मा हुन, भिडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा महोत्सव तथा भोज आदि गर्न/गराउन नपाउने उल्लेख छ । आदेशानुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ र बेलुका ४ देखि ७ सम्म सञ्चालन गर्न भने पाइने छैन । सार्वजनिक एवं निजी निर्माण कार्यका लागि ढुवानीका साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने काठमाडौं प्रशासनले जनाएको छ ।

उपत्यकामा शैक्षिक संस्थाले भौतिकरूपमा पठनपाठन गर्न नपाउने भनिए पनि यदि गर्नै परेका खण्डमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा सञ्चालनको निर्णय गर्नसक्ने आदेशमा उल्लेख छ । यसरी गर्दा सञ्चालनको विवरण र ढाँचा तयार पार्नुपर्नेछ । आदेशमा भनिएको छ, ‘शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न÷गराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा खोप लगाउनुपर्ने छ ।’

यस्तै अभिभावक तथा सरोकारवाला समूहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्नेछन् । आदेशमा दशैं, तिहारलगायतका चाडपर्व सांकेतिक रूपमा मनाउन अनुरोध गरेको छ ।स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा चाड पर्व मनाउन अनुरोध गरिएको हो । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिसहरू घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।

Published On: Time : 3:14:57  

तपाईको प्रतिक्रिया