केसीको छायांकन सेटमै निधन


काठमाडौं– हाँस्य कलाकार रमेश केसीको आइतबार सुटिङ सेटमै निधन भएको छ । एउटा गीतको म्युजिक भिडियो सुटिङको क्रममा आइतबार बिहान ९ बजे निधन भएको हो । ६९ वर्षीय कलाकार केसीको गीतको छायांकनको सेटमा नै निधन भएको कलाकार उत्तम केसीले जानकारी दिएका छन् ।
यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार उनको हृदयघातका कारण निधन भएको हो । उनका अनुसार ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि उनी बेहोस भएका थिए । बेहोस भएलगत्तै गंगालाल हृदयरोग केन्द्रमा पु¥याइएको कलाकार केसीलाई अस्पतालले मृत घोषित गरेको थियो ।
कलाकार रमेश केसीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घन्टा राखिएको थियो ।
श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए । चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
इमाडोल ललितपुर घर भएका उनको तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालस्थित छन्दे स्टुडियोमा एक म्युजिक भिडियोमा अभिनय गर्दागर्दै मृत्यु भएका हो । अभिनय सिलसिलामा निधन भएका उनी दोस्रो कलाकार हुन् । यस अगाडि कलाकार विष्णुभक्त फुयाँलको राष्ट्रिय नाचघरमा एक नाटक अभिनय सिलसिलामा निधन भएको थियो ।
२००९ सालमा जन्मिएका उनको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।
यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चंगा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘हर्के हवल्दार, तितो सत्य, अब अति भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए । उनलाई कला दर्शकहरूले ‘मट्टारे’का रूपमा पनि चिन्ने गर्दछन् ।

Published On: Time : 1:50:08  

तपाईको प्रतिक्रिया