एमाले जनताको नजरबाट तल खसिसकेको छ : अध्यक्ष नेपाल

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको नाम सुन्ने वित्तिकै जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गरेका छन् ।
संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आइतबार पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले भने,
‘आज देशको अवस्था किन यस्तो भयो ? एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो,’ अध्यक्ष नेपालले थपे, ‘अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेका छन् । जनताको नजरबाट तल खसिसकेको छ । यसको इज्जत प्रतिष्ठा गुमिसकेको छ ।’
केपी ओलीले मनोमानी गर्न खोजेको भन्दै उनले त्यसको जवाफ जनताले दिने बताए । ‘सांसदहरूले मेरो आदेश मानेनन्, म सबैको कत्लेआम् गर्दिन्छु भनेर (संसदको) हत्या गरियो,’ उनले भने, ‘कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ । हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदै छन् ।’
उनले आफ्नो पार्टी यही हप्तामा सरकारमा सहभागी हुने पनि बताएका छन् । पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए
अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत जनाए ।
अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै असली कम्युनिस्ट पार्टी आफूहरू भएको बताए । उनले अरुले कम्युनिस्ट पार्टीको मर्ममा चोट पु¥याएर पार्टीलाई थिलथिलो र बद्नाम गरेको आरोप लगाए ।
प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने जनाए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत परिर्वतनका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक रहेको उनक भनाइ थियो । प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुंगाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए ।
कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी संठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

Published On: Time : 1:55:08  

तपाईको प्रतिक्रिया