मेयरलाई मुक्का प्रहार गर्ने पंगेनी पक्राउ


बुटवल– बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डिएसपी मदन कुँवरले जानकारी दिए । उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रूपन्देही जिल्ला कमिटी सदस्यसमेत हुन् ।

पंगेनीमाथि अनुसन्धान गरेर दुव्र्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारवाही हुने डिएसपी कुँवरले बताए । सोमबार वर्षापछि भूस्खलन भई बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको थियो ।

बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न र उनलाई उक्साउने उपर छानबिन गरी यथाशीघ्र कारबाही गर्न माग गरेको छ । प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार विहानदेखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको उल्लेख गरिएको छ ।

त्यही बेला अराजक व्यक्तिहरूले नियोजित रूपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुःखद, निन्दनीय र खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ । ज्योतिनगरको प्रकोपको नियन्त्रण र व्यवस्थापन कार्य उपमहानगरपालिकाको क्षमताले मात्र हुन नसक्ने पनि प्रवक्ता रेग्मीले बताएका छन् ।

Published On: Time : 2:45:16  

तपाईको प्रतिक्रिया