पविन र सुरोजलाई उपाधि


काठमाडौं — आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी जित्न सफल भएका छन् ।

उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधी उचालेका हुन् । पविन र सुरोजको जोडीले डङ्गोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेका हुन् । सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी तेश्रो भए ।

बिजयी खेलाडीहरूले नगद ६५ हजार, उपबिजयीले नगद ४० हजार र तेश्रो हुने टोलीले नगद २०/२० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । ललितपुर बालकुमारीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान्स् ४५ बर्ष माथिको प्रतिस्पर्धामा फ्रेन्डसिप ब्याडमिन्टन क्लबका शम्भु महर्जन र राजकुमार राजकर्णिकारको जोडीले बाजी मा¥यो । उक्त जोडीले सनराईज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापाको जोडीलाई १३–२१, २१–१६, २१–१४ ले पराजित गर्दै जितलाई आफ्नो नाममा लेखाए । श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी तथा इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तीलक बुढाथोकी र दिल बहादुर कदङ्गवाको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

बिजयी टिमले नगद ३० हजार, उपबिजयी टिमले नगद २० हजार र तृतीय टिम प्रत्येकले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरूलाई लतिलपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Published On: Time : 3:25:46  

तपाईको प्रतिक्रिया