मल्टिप्लेक्स हलमा फिल्म लाग्ने


काठमाडौं– कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हलहरूले फिल्म रिलिजको लाइनअप घोषणा गरेका छन् । सरकारले ५० प्रतिशत अक्कुपेन्सीमा हल खोल्न अनुमति दिए पनि फिल्म लगाउने विषयमा निर्णय गर्न नसकेका काठमाडौं उपत्यकाका मल्टिप्लेक्स हलहरूले फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् । २१ असोजबाट हल खुलाउने तयारीमा रहेका हलहरूले फिल्म रिजिलको लाइनअप घोषणा गरेका हुन् ।

काठमाडौंसहित विभिन्न जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ नेपाली फिल्म नहुँदा हल बन्दै थिए । अब विदेशी फिल्म चलाएर सिनेमा हल खुल्ने तयारी गरिएको छ । प्रशासनले हल खोल्न अनुमति दिनुभन्दा अगावैदेखि हल व्यवसायी र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले दशैंबाट नियमित फिल्म रिलिज गर्नका लागि निर्मातासँग दिनहुँ छलफल गरेको थियो । तर, निर्माताहरूले मोटो एमजी मागेपछि प्रदर्शकहरू पछाडि हटे । यस्तैमा बलिउड फिल्मले भकाभक रिलिज डेट घोषणा गरेपछि उनीहरूले राहतको सास फरेका छन् ।

नेपाल चलचित्र संघको निर्णय बमोजिम यही २१ असोजबाट हल खोल्न सञ्चालकहरू तयार देखिएका छन् । राजधानीका प्रायः मल्टीप्लेक्सहरूले त फिल्मको रिलिज लाइनअप पनि घोषणा गरिसकेका छन् । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले हल खुलेको पहिलो दिन (घटस्थापना) हलिउडको दुई बहुप्रतिक्षीत फिल्म ‘नोबडी’ र ‘फस्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्ने भएको छ । १४ अक्टोबरबाट भने हलिउडकै ‘नो टाइम टू डाई’ प्रदर्शन हुनेछ । क्युएफएक्स चेनले यी कुनै पनि फिल्मलाई शोज बाँडफाँड र अग्रिम बुकिङ खुल्ला गरिसकेको छैन । यसले आफ्नो वेब साइटमा २६ असोजबाट प्रदर्शन हुने नेपाली फिल्म ‘डाँडाको वरपीपल’ को भने पोस्टर राखेको छैन । मल्टिप्लेक्सले नेपाली फिल्मलाई गर्ने व्यवहार कस्तो छ यसबाट पनि धेरै बुझ्न सकिन्छ ।

नयाँ वानेश्वरमा रहेको वान सिनेमाज्ले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनाबाट रिलिज हुने फिल्मको जानकारी दिएको छ । दुई अडिटोरियमको यो नयाँ मल्टिप्लेक्सले घटस्थापनमा ‘फस्ट एन्ड फ्यूरियस ९’ र महानवमीबाट ‘नो टाइम टू डाई’ रिलिज गर्दैछ । तर, यसले पनि वेब साइटमा हलिउड फिल्मको मात्र पोस्टर राखेको छ, ‘डाँडाको वरपीपल’ को पोस्टरलाई स्थान दिएको छैन । कमलपोखरीको सिटी सेन्टरमा रहेको तीन अडिटोरियमको विग मुभिजले पनि आफ्नो वेब साइटमार्फत घटस्थापनामा हलिउड फिल्म ‘फस्ट एन्ड फ्यूरियस ९’, १४ अक्टोबर (नवमी) मा ‘नो टाइम टू डाई’ र २९ अक्टोबर (कात्तिक १२) मा ‘क्यान्डिम्यान’ रिलिज गर्ने जनाएको छ । चाबहिलको एफक्युबले भने क्युएफएक्सले झैँ घटस्थापनामा ‘नोबडी र फस्ट एन्ड फ्यूरियस ९’ रिलिज गर्दैछ ।

त्यस्तै, सुनधारामा अवस्थित सिडिसी सिनेमाज्ले घटस्थापनामा ‘फस्ट एन्ड फ्यूरियस ९’ मात्र रिलिज गर्ने भएको छ । यसले आफ्नो वेब साइटमा ‘डाँडाको वरपीपल, नो टाइम टू डाई, सूर्यवंशी, आरआरआर र केजिएफ २’ फिल्मलाई ‘कमिङ सुन’ मा राखेको छ । क्युज सिनेमाज्, आइएनआई लोटस सिनेमाज्, मन्नू सिनेमा हलमा पनि घटस्थापनाबाट ‘फस्ट एन्ड फ्यूरियस ९’ नै रिलिज हुँदैछ ।

Published On: Time : 3:31:03  

तपाईको प्रतिक्रिया