‘पार्टी निर्माणार्थ तीनमहिने अभियान’


तम्घास– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिएकी छन् । सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद विघटन गरेको विरोधमा आफूहरूले नयाँ पार्टी दर्ता गर्नु परेको बताइन् । उनले यसो गर्दा केपी ओलीको नजरमा आफूहरू नराम्रो भएको पनि बताइन् । उनले भनिन्, ‘पटक–पटक संसद विघटन प्रथाको विरोध गरियो, यसो गर्दा ओलीको नजरमा हामी नराम्रो भयौँ, त्यसैले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेको हौँ ।

उनले तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख संगठित सदस्य बनाउने आफूहरूको लक्ष्य भएको बताइन् । उनले सदस्यता दिएपछि प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याए पनि देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने तथ्यांकको जानकारी गराउँदै र त्यसपछि नेकपा एमाले बिलाएर जाने उद्घोष गरिन् । उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेकाले पनि एमाले विलिन हुने अवस्थामा पुगेको उनको भनाइ थियो । उनले नेकपा (एकीकृत समाजवादी) छाडेर कोही कोही बनिबनाउ घरको नाममा एमालेको दास बन्ने कोसिस गरेको बताएकी छन् । जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् ।

अहिलेको कम्युनिस्ट पार्टीमा सबै अट्न सक्ने उनको भनाइ थियो । आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिइन् । उनले प्रत्येक संगठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्ना लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने जानकारी गराइन् ।

Published On: Time : 6:35:51  

तपाईको प्रतिक्रिया