एमाले अधिवेशनमा केन्द्रित


काठमाडौं– गत भदौमा विधान महाधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व चयन गर्ने महाधिवशेनमा केन्द्रित भएको छ । गएको १५ देखि १७ भदौसम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशनपछि नेतृत्व चयनका लागि आगामी १० देखि १२ मंसिरसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरिएको छ । त्यसका लागि यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

एमाले ६ कात्तिकमा देशभर एकसाथ वडा र ९ कात्तिकमा पालिका अधिवेशन गर्ने तयारीमा जुटेको छ । ७५३ स्थानीय तहको सबै वडामा एकसाथ वडा अधिवेशन हुने र उक्त अधिवेशनको अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ । पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारी रहेको एमालेले स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी संख्या निर्धारण गरेको छ ।

एमालेले स्थानीय तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी पाँच जना पदाधिकारी रहने व्यवस्था गरेको छ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको वडा कमिटी ३१ सदस्यीय हुन प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको ४१, र महानगरपालिकाको वडा कमिटी ५१ सदस्यीय हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार गाउँ वा नगरपालिका कमिटी ७५, उपमहानगरपालिका ८५ र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने व्यवस्था गरिएको छ । सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । पार्टीले २ जेठ ०७५ को सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र ३ जेठ ०७५ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा.भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।

माओवादी केन्द्रमा सम्मेलनबारे छलफल
नेकपा माओवादी केन्द्रले पनि आगामी महाधिवेशन केन्द्रित छलफल थालेको छ । सोमबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल भएको हो । केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगिएको जानकारी दिए । उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए । ‘आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ’, उनले भने, ‘विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बस्नेछ । मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए ।

Published On: Time : 6:40:46  

तपाईको प्रतिक्रिया