कोरियामा आंशिक रोजगारी खुला


काठमाडौं– कोरोना महामारीका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी आंशिक रूपमा खुलेको छ । कोरियाले राखेको स्वास्थ्य मापदण्डलगायतका सर्त पूरा गरेपछि नेपालबाट श्रमिक लैजाने काम सुरु हुने भएको हो ।

कोरियाले लैजाने श्रमिकमध्ये पहिलो चरणमा कोरियामा बसेर फर्केकाहरू पुनः रोजगारीमा जान अनुमति प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । सुरुमा ४ वर्ष १० महिना रोजगारी गरेर नेपाल फर्केकाहरू कोरिया जान पाउने बताइएको छ । पहिलो चरणमा ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।

नामावलीमा नाम आएकाहरूमध्ये १० कात्तिकमा ५० श्रमिकको उडान गर्ने तयारी भएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाले नेपालबाट श्रमिक लैजानको लागि राखेको सर्तअनुसार कोरोना बिमा, पिसिआर परीक्षण, सिधा हवाइ उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने सर्त राखिएको छ । सर्तअनुसार नेपालले कामदार पठाउन तयार भएपछि क्रमशः कोरिया रोजगारीमा जाने तयारीमा रहेका र अन्य श्रमिक पनि कोरिया रोजगारमा जान पाउने बताइएको छ ।

कोरोनाका कारण करिब २० महिनादेखि भाषा पास गरेका नेपाली युवाहरू रोजगारीका लागि विदेश जान पाएका थिएनन् । यो प्रक्रिया पूरा भएको खण्डमा नियमित भएसँगै रोजगारको लागि कोरिया जाने पर्खाइमा रहेका १० हजार नेपालीले जान पाउने बताइएको छ ।

Published On: Time : 6:48:51  

तपाईको प्रतिक्रिया