बाढीको वितण्डा

काठमाडौं– दुई वटा प्रणाली एकैसाथ सक्रिय भएका कारण नेपालका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । मनुसन बाहिरिएलगत्तै कात्तिकमा यति धेरै वर्षा भएको यो विरलै घटना भएको जानकारहरूको भनाइ छ ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानांगले बताएका छन् । यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली ३१ असोजबाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो ।

मौसमविद्हरूका अनुसार दुई वटा प्रणाली सक्रिय हुँदा मुख्यतः सुदुरपश्चिम प्रदेशलाई नराम्ररी प्रभावित पारेको छ । यद्यपि वर्षाले मध्य र पूर्वी नेपालमा पनि ठूलो प्रभाव पारेको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ । डोटी र सुनसरीमा दुई÷दुई तथा डडेलधुरा, कालिकोट र उदयपुरमा एक/एक गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ ।

प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।

कर्णाली र महाकालीमा खतरा
कैलालीको कर्णाली नदीमा मंगलबार दिउँसोदेखि पानीको बहाव खतरा तहभन्दामाथि पुगेपछि सम्भावित क्षतिलाई मध्यनजर गरी नदी तटीय क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ । कर्णालीमा खतराको तह १० दशमलव आठ मिटर मानिएकामा १२ दशमलव शून्य पाँच मिटरभन्दा माथि पुगेको थियो । यो नदीमा पानीको बहाव १० मिटर पुगेपछि चेतावनी तह मानिन्छ ।

कर्णाली नदीको बाढीले टीकापुर नगरपालिका–५ को शाहीपुरको तटबन्धन भत्काएपछि बाढी बस्तीमा पुगेको छ । वडा नं २ र वडा नं ८ को सत्तीपुल आसपासको बस्तीसमेत जोखिममा परेको छ । शाहीपुरको तटबन्धन भत्किएर कर्णालीको बाढी बस्तीमा पुगिसकेको सेना र प्रहरीको टोलीबाट रोक्ने छेक्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । तटबन्धन भत्किएकको ठाउँबाट भित्र पसेको बाढीले टीकापुर नगरपालिका–५, ६, ७, ८ को बस्तीमा समेत धनमालको क्षति पुग्ने जोखिम देखिएको छ ।

महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मंगलबार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरूपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो । सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् ।

थलारा पहिरोः २३ जना बेपत्ता
बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिराको जोखिममा रहेपछि १०० भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

आज पनि बदली रहने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए । यसपटक मनसुनमा धेरै वर्षा भएको थियो । पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो । वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिएका छन् ।

Published On: Time : 5:33:46  

तपाईको प्रतिक्रिया