थ्रीस्टारको विजयी सुरुवात


काठमाडौं –सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शनिबारको खेलमा थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो । त्यसअघिको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । ’सेट पिस’ मा बलियो देखिएको थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २२ औँ निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गरे । खेलको २६ औँ मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

‘ए’ डिभिजन लिगमा विकासको यो डेब्यु खेल हो । थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । ४४ औँ मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए । त्यसपछि खेलको ५८ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए । त्यस्तै पहिलो खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । तर, खेलको ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे । रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

तर खेलको ६४ औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत टप कर्नरमा उत्कृष्ट गोल गरे । यस्तै खेलको ८४ औँ मिनेटमा संकटाका गणेश हमालको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको त्यहिँ बलमा रुचालको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र बराबरीबाट दुबै टोलीले नयाँ सिजनको सुरुआत गरेको छ ।

खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । खेलपछि संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङले टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘मेरो खेल लिगमा पहिलो पटक हो । नयाँ शैलीबाट खेलिरहेका छौँ । म प्रदर्शनमा सन्तुष्ट छु,’ प्रशिक्षकको रूपमा ‘ए’ डिभिजनमा डेब्यु गरेका गुरुङले भने । हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले दुबै टोलीले राम्रो खेल खेलेको बताए । ‘सानो गल्तीले गोल खायौँ । तर, समग्रमा राम्रो भयो । संकटाले धेरै अनुशासित खेल खेल्यो,’ राईले भने । लिग अन्तर्गत आइतबार दुई खेलहरू हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

Published On: Time : 2:47:50  

तपाईको प्रतिक्रिया