सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाई छन् । तीमध्ये दाई हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम गर्छन् ।

‘दिनभर पैसा माग्छौँ, एक जनाले पाँचदेखि ४० सम्म दिन्छन्’ उनले भने, ‘मागेको पैसा घरबेटीलाई भाडा बुझाउन आमालाई दिन्छौँ ।’ उनी खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तिहारपछि विद्यालय सञ्चालन भइरहेको छ तर दिदीले विद्यालयमा नभई पैसा माग्न पठाएर आफू बजारमा हिँडेको उनले बताए । हिमालले विद्यालय सञ्चालन हुने÷नहुनेबारे आफूहरूलाई केही थाहा नहुने र रातिमाबाहेक अन्य समयमा आफूहरू कहिले समूहमा त कहिले एक्लै पैसा माग्न जाने गरेको बताए । सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उनीहरूजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन् । होटलबाट फालिएको खाना, खाएर फालेको फलफूल, ढलमा फ्याँकिएका वस्तुलगायतका खाद्यान्न एवं नगद आउने सामग्री बालबालिकाका जीवन गुजार्ने माध्यम बनेका छन् ।

सदरमुकाम तम्घासको उदिनढुङ्गा, मिलनचोक, भीमचोक, लाकुरीमञ्च, खानिगाउँ, बसपार्कलगायतका ठाउँ बालबालिकाका लागि पैसा माग्ने मुख्य ठाउँ हुन् । बसपार्क र उदिनढुङ्गामा मानिसहरू सवारी चढ्ने÷ओर्लने भएकाले बालबालिकाको बढी भीड हुन्छ । तम्घासमा पैसा माग्दै हिँड्नेमध्ये अधिकांशका बाबुआमा छन् । उनीहरूले राम्रो हेरचाह नगर्दा अहिले सडकमा बालबालिका मगन्ते जीवन बिताइरहेका छन् । सडक बालबालिकाले पैसा माग्दा कतिपयले कुटपिटसमेत गर्दछन् । जसका कारण सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पसलबाट सामान लैजान्छन् : व्यापारी
बालबालिकाले बाटोमा हिँड्ने मानिस र व्यापारीसँग पैसा माग्ने मात्रै होइन्, पसलबाट खानेकुरासमेत लैजान्छन् । व्यापारीका आँखा छलेर चाउचाउ, दालमोठ, बिस्कुटलगायतका खानेकुरा आफैँले झिक्ने गरेका छन् । ‘म नभएका बेला आफैँ झिकेर कैयौँपटक लगे, बालबालिका भएकाले कुटपिट गर्न मानवताले दिएन’, बसपार्कमा किराना पसल सञ्चालन गर्दै आएका हरि पाण्डेले भने, ‘सडक बालबालिकाको उचित व्यवस्थापन जरुरी छ ।’ तत्काल नै यस्ता बालबालिकाको व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो समस्या झेल्नुपर्ने उनले बताए ।

राज्यले सहयोग गर्नुपर्‍यो : अभिभावक
धुर्कोट गाउँपालिका–७ वाग्लाका ३२ वर्षीया रमेश विश्वकर्माले घर छोडेको १३ वर्ष भयो । रोजगारीका लागि बीचमा केही समय भारतमा गएका उनी पछिल्लो केही वर्षयता तम्घासमै बस्छन् । बसपार्कमा उनी र श्रीमतीसहित उनका दुई छोरा र दुई छोरी बस्छन् । तीमध्ये सात वर्षीय छोरा र एक छोरी बिहानदेखि बेलुकीसम्म बजारमा पैैसा माग्न हिँड्न गरेको उनले बताए । ‘मैले दिनभर काम गरेको पैसाले बिहान–बेलुका खान पनि मुस्किलले पुग्छ’ उनले भने, ‘केटाकेटीलाई पढाउन खर्चले पुग्दैन ।’ छोराछोरीलाई माग्न पठाउने आफ्नो रहर नभई बाध्यता भएको उनले सुनाए ।

राज्यले पढाइ खर्चमा सहयोग गरेमा विद्यालय पठाउने उनको प्रतिबद्धता छ । पल्लेदारकैरूपमा काम गर्ने अर्का अभिभावक सुनिल नेपालीले पनि राज्यले सहयोग गरेमा आफ्ना बालबालिकालाई विद्यालय पठाउने बताए ।

विद्यालय पठाउने तयारीः प्रहरी
बजारमा बालबालिका छोड्नेका अभिभावक तम्घासमै पल्लेदारका रूपमा काम गर्छन् । उनीहरूले ज्यालादारी गरेर दैनिक ७०० देखि एक हजारसम्म आम्दानी गर्छन् । अधिकांश अभिभावकले दिनभर कमाएको पैसाले मादक पदार्थ सेवन गर्छन् । जसले गर्दा बालबालिकाको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले बालबालिकाले पसलमा चोरी गरेको निवेदन कार्यालयमा आउने गरेको बताए । त्यसका साथै मोटरसाइकलमा क्षति गरेको, जबर्जस्त पैसा लगेको जस्ता उजुरी कार्यालयमा आउने गरेको उनको भनाइ छ । तम्घासमा माग्दै हिँड्ने १३ जना बालबालिका रहेको र उनीहरूलाई रेसुङ्गा नगरपालिका–८ को वडा कार्यालयको समन्वयमा सिद्धबाबा माध्यमिक विद्यालयमा पढाउने तयारी भइरहेको सूचना अधिकारी पाण्डेले बताए । रासस

Published On: Time : 2:55:04  

तपाईको प्रतिक्रिया