मनाङ मस्र्याङ्दी विजयी


काठमाडौं — कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।

मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच चुनिए । लिग अन्तर्गत सोमबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

Published On: Time : 2:23:27  

तपाईको प्रतिक्रिया