विदेशमा अधिकांश अदक्ष श्रमिक


काठमाडौं– वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरू कुनै पनि काममा दक्ष नभएर विदेश जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको कात्तिक महिनामा विदेशिएकाहरूको तथ्यांकमा ४८.६५ प्रतिशत अदक्ष श्रमिक रोजगारीका लागि विदेश गएको देखिएको हो ।

कात्तिक महिनामा विभागबाट श्रम स्वीकृति लिएर विदेश गएका ५४ हजार ९ सय १८ जनामध्ये २६ हजार ७ सय २३ जना अदक्ष श्रमिक रहेको तथ्यांकमा जनाइएको छ । यो संख्या सो महिनामा विदेशिएका नेपालीहरूको करिब आधा संख्या हो । त्यस्तै यो अवधिमा दक्ष श्रमिक भने २३ हजार ४ सय ५६ जना विदेशिएका छन् । जुन जम्मा संख्याको ४२.७१ प्रतिशत हो । कात्तिक महिनामा ४ हजार ६ सय ५९ जना अर्ध कुशल श्रमिक विदेश गएको तथ्यांकले देखाएको छ । यो संख्या जम्मा ८.४८ प्रतिशत हुन आउँछ ।

यो अवधिमा रोजगारीका लागि विदेश गएका नेपालीमध्ये जम्मा ६८ जना व्यवसायी श्रमिक रहेका छन् । जुन एक महिनाको अवधिमा विदेश गएकाहरूको ०.१२ प्रतिशत हुन आउँछ । त्यस्तै उच्च दक्ष जनशक्ति भने कात्तिक महिनामा जम्मा १२ जना बाहिरिएको देखिएको छ । यो संख्या प्रतिशतमा ०.०२ प्रतिशत हुन्छ । असोज महिनामा नेपालबाट ५६.८४ प्रतिशत अदक्ष श्रमिक विदेशिएका थिए । त्यस्तै, असोज महिनामा नेपालबाट उच्च दक्षता हासिल गरेका ०.०२ प्रतिशत व्यक्ति विदेश गएका थिए । असोज महिनामा कात्तिक महिनाको भन्दा एक जना कम ११ जना उच्च दक्षता भएका व्यक्ति विदेश गएका थिए । असोज महिनामा ०.०५ प्रतिशत पेसाविद् (प्रोफेसनल) श्रमिक विदेशिएको देखाएको थियो । असोज महिनामा नेपालबाट ७.६९ प्रतिशत अर्धदक्ष श्रमिक विदेश गएका थिए । भने ३५.३८ प्रतिशत दक्ष श्रमिक विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै धनुषा, कम मनाङबाट
जिल्लागत रूपमा हेर्दा कात्तिक महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषा र कम मनाङ जिल्लाबाट गएको देखिएको छ । एक महिनाको अवधिमा धनुषाबाट ३ हजार ७ सय ९ जना विदेशिएका छन् भने मनाङबाट रोजगारीका लागि विदेश जान एक जनाले श्रम स्वीकृति लिएको देखिएको छ । त्यस्तै धेरै विदेश जाने जिल्लामा सिराहा दोस्रो स्थानमा रहेको छ । सिराहाबाट यो अवधिमा २ हजार ८ सय ९७ जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै धेरै श्रमिक विदेशिने जिल्लामा महत्तरी तेस्रो स्थानमा रहेको छ । त्यहाँबाट यो अवधिमा २ हजार ५ सय १२ जना रोजगारीको सिलसिलामा विदेशिएका छन् ।

यसैगरी, झापाबाट पनि यो अवधिका २ हजारभन्दा बढी व्यक्ति विदेशितिर लागेका छन् । झापाबाट २ हजार ४ सय ९० जना विदेश गएका छन् । यसरी एक महिनामा २ हजारभन्दा बढी श्रमिक विदेशिने जिल्लाको संख्या ५ रहेको छ । त्यस्तै १ हजार भन्दा बढी विदेशिने जिल्लाको संख्या १४ रहेको छ । झापापछि २ हजारभन्दा बढी श्रमिक पठाउने जिल्ला मोरङ रहेको छ । मोरङबाट एक महिनामा २ हजार ९५ जना विदेश गएका छन् ।

त्यस्तै १ हजारभन्दा बढी श्रमिक विदेशिने जिल्लामा नवलपरासीबाट १ हजार ८८९, सुनसरीबाट १ हजार ६६७, सर्लाही १ हजार ६१६, रूपन्देही १ हजार ५९९ जना रहेका छन् । त्यसैगरी, स्याङ्जाबाट १ हजार ५७३ जना, सप्तरी १ हजार ५६३, तनहुँ १ हजार ५४९ र चितवनबाट १ हजार २८९ जना गएका छन् । यी बाहेक कपिलवस्तुबाट १ हजार १८०, कास्कीबाट १ हजार ९८, रौतहट १ हजार ८९, दाङ १ हजार ३८ र गोरखाबाट १ हजार ९ जना विदेशिएको विभागको तथ्यांकले देखाएको छ । यसरी हेर्दा आधाभन्दा बढी श्रमिक यि १८ जिल्लाबाट विदेश गएको देखिन्छ । यि जिल्लाबाट मात्रै ३१ हजार ८ सय ६२ जना विदेश गएका छन् । त्यस्तै कात्तिक महिनामा सबैभन्दा कम मनाङबाट १ जना विदेशिएका छन् भने डोल्पा र हुम्लाबाट ९÷९ जना विदेशिएका छन् । त्यस्तै मुगु र मुस्ताङबाट समान १०–१० जना विदेश गएको तथ्यांकले देखाएको छ ।

Published On: Time : 2:33:38  

तपाईको प्रतिक्रिया