काष्ठमण्डपमा २ हजार वर्ष टिक्ने काठ


काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप काष्ठमण्डपको पुनर्निर्माणमा धेरै टिकाउ हुने काठ प्रयोग गरिएको छ । काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा पुगिरहेको बेला निर्माण समितिले पुनर्निर्माणमा कम्तीमा दुई हजार वर्ष टिक्ने काठको प्रयोग गरिएको जानकारी दिएको हो ।

धेरै काठ प्रयोग गरेर पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पुनर्निर्माणका क्रममा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौतम डंगोलले दाबी गरेका छन् । पुनर्निर्माणमा प्रयोग गरिएको काठको टिकाउका सम्बन्धमा प्रयोगशाला परीक्षणबाट यस्तो तथ्य प्रमाणित भएको उनले जानकारी दिए । समिति अध्यक्ष राजेश शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जंगलमा गएर राम्रा काठ संकलन गरेर ल्याई पुनर्निर्माण कार्यमा प्रयोग गरिएको उनले बताए । १२ वैशाख ०७२ अघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनर्निर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६०० वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ । ‘कार्बन डेटिङ’ को प्रमाणका आधारमा बेलायतमा गरिएको परीक्षणका आधारमा दुई काठ कति पुराना हुन् भनी प्रमाणित गर्न सकिएको समितिले जनाएको छ ।

बीचमा काठका ठूला–ठूला चार थामलगायत संरचना सातौँ शताब्दीकै स्वरूपमा बलियो गरी पुनर्निर्माण गरिएको समितिले जनाएको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिएका सबै काठ उच्च गुणस्तरका प्रयोग गरिएकाले कम्तीमा दुई हजार वर्षसम्म केही नहुने समितिको विश्वास छ । सातौँ शताब्दीमा काष्ठमण्डप निर्माण गर्दाकै जस्तो प्राचीन प्रविधिमा यसको पुनर्निर्माण सम्पन्न भएको छ । बाँस र डोरी प्रयोग गरेर काठमाथिसम्म लगिएको थियो । आधुनिकरूपमा प्रयोग गरिने ‘हेभी इक्विपमेन्ट’ काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग नगरी प्राचीन प्रविधिबाट पनि यति ठूला भवन बनाउन सकिन्छ भन्ने सन्देश दिइएको सचिव डंगोलले बताए ।

प्राचीन प्रविधिबाट नै यस्ता भवन निर्माण गर्नसक्ने जनशक्ति स्वदेशमा अझै छ भन्ने पनि काष्ठमण्डप पुनर्निर्माणले प्रमाणित गरेको छ । उनका अनुसार प्राचीन स्वरूपमा पुरातात्विक महत्वका सम्पदा बनाउन सक्ने जनशक्तिको संरक्षणमा सरोकार भएका सरकारी निकायले ध्यान दिनुपर्ने हुन्छ । काष्ठमण्डप पुनर्निर्माण व्यवस्थापन, पुँजी र प्रविधि सबै नेपाली नै प्रयोग गरी गरिएको छ । सिमेन्ट प्रयोग नगरी माटोको जोडाइमा निर्माण गरिने पुरातात्विक महत्वका सम्पदा आधुनिक विज्ञानले भने सरह टिक्ने काष्ठण्डपबाट पुष्टि भएको समितिको भनाइ छ । एक हजार ४०० वर्षअघि नेपालमा काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको प्रविधि आधुनिकरूपमा नयाँ प्रविधिजत्तिकै टिकाउ छ भन्ने बेलायतमा गरिएको परीक्षणबाट प्रमाणित भएको हो ।

समितिका अनुसार काष्ठमण्डपको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । काठमाडौं महानगरपालिकाको रु ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

समितिले महानगरपालिकासँग चार चरणमा गरी रु ११ करोड ५० लाख लिएको उनले बताए । भूकम्पपछि पुरातत्व विभागले आर्थिक वर्ष ०७२÷७३ मा गरेको काष्ठमण्डप पुनर्निर्माणको लागि रु १९ करोड ८० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । विभागले गरेको प्रारम्भिक अनुमानभन्दा रु सात करोड ५० लाख सस्तोमा समितिमार्फत् काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको छ । समुदायलाई नै सम्पदा पुनःनिर्माणको जिम्मेवारी दिँदा कम लागतमा काम भएको हो । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माण सुरुको चरणमा विवादमा परेको थियो । यसअघि अर्को समिति गठन भएर पुनर्निर्माण अघि बढाउन खोजे पनि विभिन्न अवरोध आएको थियो ।

Published On: Time : 2:51:09  

तपाईको प्रतिक्रिया