रावललाई उम्मेदवारी फिर्ता लिन सुझाव


काठमाडौं– नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौँ राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरूले अत्याधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए ।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी ओली नै दशौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने पनि दाबी गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औँ महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । उनले नेतृत्व चयनको विषयमा अनेकखालको बहस हुने गरेको पनि स्मरण गराएका छन् । उनले भने, ‘कम्युनिस्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौँ, दुईधारको संघर्षको नाममा नोहरूलाई खुइल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ ।’

अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामु बढेको पनि बस्नेतले स्मरण गराए । उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई उम्मेदवारी फिर्ता गर्न पनि सुझाव दिएका छन् । उनले भने, ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुन सक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुन सक्छ ।’ उनले कम्युनिस्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुने टिप्पणी गरे ।

Published On: Time : 2:37:08  

तपाईको प्रतिक्रिया