ओलीको रणनीति : निर्वाचनबाटै नेताहरूको व्यवस्थापन


काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । शुक्रबारदेखि चितवनमा हुने एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघि गत असोजमा विधान महाधिवेशनमार्फत पार्टी नीति, कार्यक्रम र विधान संशोधन गरिसकेको एमालेले यो महाधिवेशनमा मुलतः अध्यक्षसहित १५ पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमालेको महाधिवेशन सुरु हुन लाग्दा अब नेतृत्वमा को को आउँछन् भन्ने सर्वत्र चासोको विषय छ । यसअघि एमालेमा प्यानल नै बनाएर आन्तरिक निर्वाचन हुने गरेकामा यसपटक भने त्यस्तो हुने छैन । पार्टीको आन्तरिक निर्वाचनमा समूह बनाउन नपाउने पार्टीले नीति पारित गरेअनुसार तल्लो कमिटीसम्म सर्कुलर गरिसकिएको छ । अझ एमालेविरुद्ध सबै दल एक भएको र पार्टी पनि फुटेको अवस्थामा यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने शुभेच्छुकहरूको अपेक्षा छ । तर, महाधिवेशनको मिति नजिकिँदै जाँदा सर्वसम्मत नेतृत्व चयन हुने संभावना क्षीण हुँदै गएको छ ।

एमालेको अध्यक्षमा पुनः केपी ओलीको विकल्प नभएको चर्चा चलिरहँदा उपाध्यक्ष डा.भीम रावलले पत्रकार सम्मेलनमार्फत् अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष ओलीको नेतृत्वमा नदोहोरिने प्रतिबद्धताको सम्मान गर्न पनि उम्मेदवारी दिन लागेको बताएका थिए । उनले ओलीले पनि आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने अपेक्षा राख्दै भरोसा गर्न आग्रह गरेका थिए ।

हुन त अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरिरहेका छन् । महाधिवेशनका लागि प्रतिनिधि छान्ने क्रममा पनि सकेसम्म सहमति गर्न उनले आग्रह गरेका थिए । सोहीअनुसार एकाध जिल्लाबाहेक सबैजसो ठाउँमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानेका छन् । एमाले विभाजनका बेला १० बुँदे सहमति गरेर पार्टीमा बसेका र पूर्व नेकपा माओवादी केन्द्र पृृष्ठभूमिका नेताहरूलाई व्यवस्थापन गर्न पनि सर्वसम्मत नेतृत्व चयनको अपेक्षा गरिएको थियो । यदि उनीहरूलाई यो महाधिवेशनले समेट्न सकेन भने एकताको सन्देश नजाने र पार्टीभित्र चौतर्फी घेराबन्दी भइरहेका बेला कठीन हुने विश्लेषण गरिँदै आएको थियो । त्यसैले अध्यक्ष ओलीले सबै समूह र पृष्ठभूमिका नेताहरूलाई समेटेर केन्द्रीय समिति बनाउने अपेक्षा गरिए पनि आकांक्षी धेरै भएपछि त्यो संभावना कम हुँदै गएको हो ।

एमालेले अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात जना सचिवसहित १५ पदाधिकारीका लागि मात्रै दर्जनौँ आकांक्षीहरू देखिएका छन् । वरिष्ठ उपाध्यक्षमा नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल र रामबहादुर थापा तीव्र आकांक्षी देखिएका छन् । महासचिवमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरूको तीव्र आकांक्षा छ । उपमहासचिव र सचिव पदमा चार दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । यद्यपि अहिलेसम्म कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छ्रैनन् । अध्यक्ष ओलीको सहमति र समर्थन बिना उम्मेदवार बन्दा नजितिने आँकलन गरेका सबैजना उनको समर्थन प्राप्त गर्न प्रयासरत छन् ।

तर, अध्यक्ष ओलीले भने नेतृत्व व्यवस्थापनका लागि निर्वाचनको विकल्प रोज्ने संकेत गरेका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले सहमति हुन नसके लोकतान्त्रिक अभ्यासको बाटो खुला रहेको बताए । उनले भने, ‘साथीहरू विना करकाप सहमतिमा जानुहुन्छ भने सबै ठाउँमा सहमति गरे हुन्छ । तर, लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाब पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।’

उनले अगाडि भने, ‘कसैले मेरो इच्छा सोध्छ भने मिलेर जानु सबभन्दा राम्रो हो । सहमतिका साथ साथीहरू जानुभयो, ठीक छ । अध्यक्षमा लड्नुहुन्छ, लड्नुहुन्छ । लड्नुहुन्न, सहमति हुन्छ, सबभन्दा राम्रो । भरसक कर लगाए उठिदिनुस् न भन्न परोस् । त्यसमा सहमति हुनु राम्रो हो ।

Published On: Time : 2:38:27  

तपाईको प्रतिक्रिया