कर्णालीद्वारा लुम्बिनी पराजित


काठमाडौं – वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले विजयी सुरुआत गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै कर्णालीले पहिलो खेलमै जित हात पारेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३ दशमलब ५ ओभरमा अलआउट हुदै केवल ९२ रन जोड्न सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक २८ रन जोड्दा दुर्गेश गुप्ताले २० रन थपे । आकाश त्रिपाठीले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा प्रकाश जैशीले सर्वाधिक ५ विकेट हात पारे । उनले ९ ओभरमा ४३ रन खर्चेका थिए । युनिश सिंहले ३ तथा अनुज चनाराले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।

कर्णालीलाई सम्मानजनक योगफलमा पुर्याउन सुवास ऐयरले सर्वाधिक ७६ रन जोडे । उनले ९० बलको सामना गर्दा ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान निश्चल रावलले ९९ बलमा ४४ रनको योगदान गरे । उनले ५ चौका हिर्काए । एक समयमा ३९ रनमा दुई विकेट गुमाएको कर्णालीको इनिङ्स उकास्न सुवास र निश्चलले तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए ।
विपिन रावलले ३२ तथा प्रकाश जैसीले २५ रनको योगदान गरे । लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट हात पार्दा विशाल बिक्रम केसीले २ विकेट लिए ।

Published On: Time : 2:44:26  

तपाईको प्रतिक्रिया