नवीन सुब्बा निर्देशनमा फर्कँदै


काठमाडौं– फिल्म ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बा १० वर्षपछि निर्देशनमा फर्किने भएका छन् । मौलिक कथावस्तुमा अब्बल चलचित्र निर्माण गर्ने निर्देशकको छबि बनाएका नविनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चर्चित नायक दयाहाङ राईलाई दिएर उनले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने घोषणा गरेका हुन् । उनी पछिल्लोपटक चलचित्र ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका थिए । निर्देशक सुब्बाले मंगलबार नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस फिल्मले राई समुदायको कथा भन्नेछ ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । फिल्म खिच्न निर्देशक सुब्बाले अमेरिकाबाट छायांकार झिकाएका छन् । मार्किन कापरोनले फिल्म खिच्नेछन् । नेपाली छायांकारसँग आफ्नो सोच नमिल्ने र खर्चको हिसाबले पनि धान्न नसक्ने भएकाले अमेरिकाबाट छायांकार झिकेको सुब्बाले बताए । महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको फिल्मको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्च‘गल र जर्मनी निवासी व्यक्तिहरू फिल्मको सह–निर्मातामा रहेका छन् ।

निर्देशक सुब्बाले फिल्म राम्रो बनाउन प्रयास गर्ने बताए । फिल्मको घोषणासभामा उनले भने, ‘म लामो समयपछि निर्देशनमा फर्किएको छु । फिल्म भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन । स्क्रिप्टबाट म सन्तुष्ट छु । अहिले हामी कलाकारसँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौँ । फिल्मले नेपाली समाजको यथार्थलाई पस्किनेछ ।’ त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्न‘ आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिफिल्म ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले भने, ‘लामो समयपछि फिल्ममा सहकार्य गर्न पाएकोमा खुसी लागेको छ ।’

Published On: Time : 2:46:03  

तपाईको प्रतिक्रिया