नौतले दरबार पुनर्निर्माण अवरुद्ध


काठमाडौं– कोरोना महामारीका कारण छिमेकी मुलुक चीनबाट कामदार आउन नसकेपछि हनुमान ढोका क्ष्ँेत्रको नौतले दरबार पुनर्निर्माणको काम प्रभावित भएको छ । दक्ष कामदारको अभावमा दरबारको पुनर्निमाणको काम अवरुद्ध भएको हो । १२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको दरबार पुनर्निर्माणको काम नेपालमा कोरोना महामारी सुरु भएपछि रोकिएको निर्माण समितिले जनाएको छ ।

चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत नौतले दरबारको कामले ०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनर्निर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनर्निर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ । तर, कोरोना महामारीपछि भने चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि काम अघि बढ्न सकेको छैन ।

पुनर्निर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका विभागलाई दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले ०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको बताए । उनका अनुसार चिनियाँ कामदार नेपाल आउन नपाएपछि पुनर्निर्माणको काम ठप्पजस्तै भएको छ ।

कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनर्निर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत मात्र रहेको उनले जानकारी दिए । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ । अझै पनि चिनियाँ कामदार आउन पाएर सहज ढंगले पुनर्निर्माणको काम अघि बढेका निर्धारित समयमै पुनर्निर्माणको काम सकिने अनुमान गरिएको छ ।

विभागका महानिर्देशक दामोदर गौतमले उक्त दरबार निर्माणको काम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताए । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उनको अपेक्षा छ । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

करिब रु १६ करोड लागतमा दरबार पुनर्निर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि ३२ साउन ०७४ मा शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गरेका थिए । उक्त दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराएका थिए ।

Published On: Time : 2:47:12  

तपाईको प्रतिक्रिया