नुवाकोट–१ मा श्रेष्ठ निर्वाचित


काठमाडौं– नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिका अर्का उम्मेदवार विषम रिमाललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले रिमालाई १ सय २४ मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएको बताइएको छ । श्रेष्ठले खसेको मतमध्ये ५ सय ११ मत प्राप्त गरे भने विषम रिमालले ३ सय ८७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, सचिवमा शिव गुणी र जगदीश कुइँकेल विजयी भएका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गरे भने कुइँकेलले ४ सय ४१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । सचिवका उम्मेदवार लालबहादुर तामाङ र विकेश पण्डित पराजित भएका छन् । तामाङले ४ सय २२ मत ल्याए भने पण्डितले ३ सय ४५ मत मात्रै ल्याउन सके । सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी नेता प्रकाशशरण महत र रामशरण महत पक्षका हुन् भने कुइँकेल नेता अर्जुननरसिंह केसी पक्षका हुन् । यससँगै नुवाकोट क्षेत्र नम्बर १ को कब्जा महत पक्षले गरेको छ । कहिले सासुको पालो कहिले बुहारीको पालो भने झैँ महत समूहमा केन्द्रीय सदस्य बहादुरसिंह तामाङ र पूर्वसभापति ध्रव अधिकारीको समेत साथ रहेकोले महत पक्षले सहजै जित हासिल गरेको बताइएको छ ।

त्यस्तै, सह–सचिवमा ठाकुरप्रसाद लामिछाने र वीरबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४ सय ९९ र लामिछानेले ४ सय ९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्द्धी अर्जुन गिरीले ३ सय ५९ र पम्बर लामाले ३ सय २२ मत प्राप्त गरेको बताइएको छ । त्यस्तै, क्षेत्रीय कार्यसमिति सदस्यहरूमा ओमजन श्रेष्ठ, मेनुका भट्टराई, इन्दिरा थापा खड्का, इन्द्रप्रसाद लामिछाने, प्रमिला लामा, सुनिता घले निर्वाचिन भएका छन् । धनबहादुर तामाङ, सुकमान तामाङ, कैलाश उप्रेती पनि क्षेत्रीय कार्य समितिमा निर्वाचित भएका छन् । अर्जुन वागदास र शुभद्रा प्याकुरेल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, नवराज भण्डारी, हरिराज कार्की, रामेश्वर ढकाल, सुवर्ण श्रेष्ठ पनि कार्यसमितिमा निर्वाचित भएका छन् । गोकर्णराज पण्डित, दिनेश तामाङ र वरदान थपलियासहित ४५ जनाको क्षेत्रिय कार्यसमिति चयन भएको छ ।

यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिहरूसमेत निर्वाचित भएका छन् । जसमा अच्युतप्रसाद गुरागाई, अर्जुनप्रसाद न्यौपाने, कृष्ण कुइँकेल, कृष्णबहादुर लामा र डा. केदार नरसिंह के.सी रहेका छन् । त्यस्तै, रमेशकुमार महत, विजय के.सी, निरन्जन थापा, महेन्द्र थिङ, शिवप्रसाद अधिकारी, सूर्यबहादुर तामाङ, टीकाबहादुर पुलामी र कुमार गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै रोसना थापा महत, बिना बुढाथोकी महत, सीता मिजार, सरिता आचार्य, भवानी देवकोटा, रामेश्वरप्रसाद भण्डारी, बैकुण्ठ खनाल, सरस्वती मल्ल श्रेष्ठ, माया शेर्पिनी, कल्पना नेपाली, उपेन्द्र मिश्र र अमृता नेपाल (डंगोल) पनि महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

Published On: Time : 2:48:30  

तपाईको प्रतिक्रिया