ई–पासपोर्टको आवेदन दिन दुई महिना लाग्ने


काठमाडौं– विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी (ई–पासपोर्ट) लागि निवेदन दिन दुई महिना कुर्नु पर्ने भएको छ । अहिले काठमाडौंमा रहेको राहदानी विभागबाट जारी भइरहेको ई–पासपोर्टका लागि विदेशमा रहेका नेपालीले त्यहाँका नियोगहरूबाट दुई महिनापछि मात्र निवेदन दिन सक्ने राहदानी विभागले जनाएको हो ।

३४ पृष्ठको विद्युतीय साधारण राहदानीका लागि अहिले राहदानी विभागमा मात्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको बताइएको छ । केही हप्तापछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट निवेदन दिन सकिने विभागले जनाएको छ । १६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । तर, विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन जुनसुकै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिन सकिन्छ । कार्ड बनेर आउन केही समय लागे पनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाइने र नम्बरका आधारमा राहदानी बनाउन सकिने विभागले जनाएको छ । अहिले राहदानी विभागले वेबसाइटमार्फत विद्युतीय राहदानीका लागि बुकिङ खुला गरिरहेको छ । विद्युतीय राहादानीका लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्ने बताइएको छ ।

विद्युतीय राहदानीका लागि बुकिङको समय लिन नसकेमा र तत्काल विदेश जान परेमा कारण र प्रमाणसहित आउनेलाई विभागले एमआरपी पासपोर्ट पनि जारी गर्ने बताइसकेको छ । जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पहिलेजस्तै ५ हजार र ६६ पृष्ठको लागि १० हजार राजस्व लाग्ने बताइएको छ । विभागमा आएर ६६ पृष्ठको राहदानीका लागि निवेदन दिँदा २० हजार राजस्व लाग्ने बताइएको छ । अहिले एमआरपी पासपोर्टको म्याद भएकाहरूले भने म्याद नसकिँदासम्म विद्युतीय राहदानी बनाउनु नपर्ने जनाइएको छ ।

Published On: Time : 2:56:13  

तपाईको प्रतिक्रिया