चपली हाइटको प्रिमियर शो


काठमाडौं– कोरोनाले थिलथिलो पारेको चलचित्र क्षेत्र उठाउन चितवनमा ‘चपली हाइट ३’को प्रिमियर शो गरिने भएको छ । लक्की मिडिया हाउस चितवनको व्यवस्थापनमा प्रिमियर शो गरिने भएको हो । १ पुसमा साँझ ६ बजे क्युएफएक्स जलमा सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिने भएको हो । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको बताइएको छ ।

कोरोना महामारीले प्राय सबै क्षेत्रमा असर ग¥यो । यसबाट सबैभन्दा बढी मारमा पर्ने क्षेत्र चलचित्र रह्यो । दोस्रो लकडाउनपश्चात अरु व्यवसाय खुले, तर चलचित्र क्षेत्रमा अझैं सोचेजस्तो प्रगति हुन सकिरहेको छैन । निर्माता निर्देशकहरू प्रदर्शनको तयारीमा रहेका चलचित्रलाई समेत प्रदर्शन गर्न डराइरहेका छन् । लगानी उठाउन हम्मे पर्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको अवस्था छ । यस्तो समयमा मोफसलकै चर्चित लक्की मिडिया हाउसले ‘प्रिमियर शो’ गर्ने भएको छ ।

दर्शकको उपस्थिति कस्तो हुने हो भन्ने हलवालाहरूलाई नै चिन्ता भइरहेका बेला प्रिमियर शो गर्न‘ आफैं पनि मुस्किल काम हो । तर, लक्की मिडिया हाउसले चलचित्र क्षेत्रकै उत्थानका लागि उक्त प्रिमियर शो गर्ने भएको हो । ‘कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ । भूकम्पले घर भत्काएजस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ । नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ हामीले प्रिमियर शो आट्यौँ’, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले भने ।

निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई र सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।

Published On: Time : 3:15:39  

तपाईको प्रतिक्रिया