राप्रपामा लिङ्देन र राणाको उम्मेदवारी


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एकमात्र सांसद राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रतिनिधिसभामा झापाबाट प्रत्यक्ष निर्वाचित सांसद लिङ्देनले बिहीबार पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी बताएका छन् । नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाए । उक्त महाधिवेशनमा राप्रपाका हालका शीर्ष नेताहरू कमल थापा, डा. पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनीलगायतले पनि उम्मेदवारी दिने चर्चा चलिरहेका बेला अध्यक्षका अर्का उम्मेदवार थपिएका हुन् । पछिल्लो समय नेता लिङ्देनले पार्टीभित्र आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । उनले प्यानल नै बनाएर निर्वाचनमा होमिने संकेत पनि गरेका छन् । उनीसँगै नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख धवलशम्शेर राणाले पनि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोही कार्यक्रममा अर्का नेता राणाले आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताएका थिए । उनले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गरे ।

राप्रपाका तर्फबाट निर्वाचित सीमित जनप्रतिनिधिहरूमध्येका लिङ्देन र राणाले प्यानल नै बनाएर निर्वाचनमा होमिने तयारी गरेको बुझिएको छ । तत्काल अध्यक्ष र महामन्त्री पदमा मात्र उम्मेदवारी घोषणा गरिए पनि अन्य पदमा पनि उम्मेदवार बनाएर नयाँ पुस्ताको प्रतिनिधित्व हुने गरी प्यालन निर्माणको कसरतमा उनीहरू लागेको स्रोतको भनाइ छ । राप्रपाको महाधिवेशन यही १५ देखि १७ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।

Published On: Time : 3:18:19  

तपाईको प्रतिक्रिया