सशस्त्र प्रहरी निरीक्षकको दीक्षान्त समारोह


काठमाडौं– सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूले सलामी अर्पण गर्नुका साथै उनीसमक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुका साथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बलले प्रदर्शन गरेको वीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उनले सशस्त्र प्रहरी बलले गौरवशाली इतिहासका साथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भूकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनका साथै उद्वार तथा राहत वितरणमा अतुलनीय योगदान गरेको स्मरण गरे । त्यस्तै, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापनलगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरू प्रशंसनीय रहेको उल्लेख गर्दै सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रूपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी सफल भएको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाइनमा खटिँदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्दै राज्यका सबै निकायहरूले जातजाति, भाषा, धर्म र लिंग नभनी सामूहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बताए । उनले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूलाई अनुशासित, इमान्दार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिएका थिए ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति आवश्यक रहेको बताएका छन् । उनले कार्यसम्पादनमा चुुस्त, दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधान स्रोतहरूको व्यवस्थापनमा प्रधानमन्त्री देउवाले पहलकदमी लिने विश्वास व्यक्त गरेका थिए । उनले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरू डेडिकेटेड फोर्सको रूपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताए ।

करिब १५ महिना अवधिको उक्त आधारभूत तालिम चार महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरूले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ प्रकाश कुमार शाही र चाँदमारीतर्फ सन्दिप भट्ट उत्कृष्ट भएका छन् ।

Published On: Time : 3:23:12  

तपाईको प्रतिक्रिया