आजदेखि एमाले महाधिवेशन


चितवन– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ । मुख्यतः पार्टीको नेतृत्व चयन गर्नका लागि एमालेको महाधिवेशन हुन लागेको हो । पार्टीको नीति कार्यक्रम तथा विधानका विषयमा छलफल गर्न गत असोजमा विधान महाधिवेशन सम्पन्न भइसकेको छ । यसअघि राष्ट्रिय महाधिवेशनमा पार्टीको विधान, नीति, कार्यक्रम र नेतृत्वका विषयमा एकसाथ छलफल हुने गरे पनि एमालेले यस पटकदेखि विधान र नेतृत्व चयनको महाधिवेशन फरक–फरक गर्न लागेको हो ।

दशौँ महाधिवेशनको शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले उद्घाटन गर्दै छन् । उद्घाटन सत्रका लागि नदी किनारमा स्टेजसहितको तयारी गरिएको छ । उद्घाटन सत्रमा देशभरबाट पाँच लाखभन्दा बढी कार्यकर्ता सहभागी हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । महाधिवेशनमा सहभागी हुन अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू महाधिवेशनस्थल पुगिसकेका छन् । देशका विभिन्न भागबाट महाधिवेश प्रतिनिधि तथा कार्यकर्ताहरूसमेत चितवन आउन थालेको एमालेले जनाएको छ । महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माणको कार्य भइरहेको, आवास र खानाको सम्झौता भइसकेको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसंगठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् । उनका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको उनले जानकारी दिए । कुल प्रतिनिधि संख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ छ । महाधिवेशनमा सल्लाहकार १५ सहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहनेछन् । उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने उनले जानकारी दिए ।

एमालेको महाधिवेशमा स्वदेश र विदेशमा रहेको विभिन्न राजनीतिक दलका नेताहरूलाई पाहुनाका रूपमा आमन्त्रण गरिएको छ । महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

भारतबाट भारतीय जनता पार्टीका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र राष्ट्रिय सचिव हरिश द्विवेदीलगायत अन्य दलका नेताहरू सहभागी हुने एमालेले जनाएको छ । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरू उपस्थित हुन नसकेको जानकारी दिइएको छ । उद्घाटन सत्रपछि शनिबार बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटी बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्तासमेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ । १२ मंसिर बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले जानकारी दिए ।

मंसिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट संकलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए । उद्घाटन सत्रका दिन यात्रुवाहक सवारीसाधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उनले स्पष्ट पारेका छन् । पार्टीले आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, विधान पास गरिसकेको भन्दै उनले भने, ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्ने अब नेकपा एमालेको कार्यदिशा हो ।’ नेपालका राजनीतिक दलहरूको इतिहासमा नेकपा एमालेले तय गरेको सबैभन्दा उन्नत र समृद्ध कार्यदिशा भएको उनको दाबी छ । उनले भने, ‘अब हामीले त्यता लक्ष्य बनाएका छौँ ।

यो महाधिवेशनबाट त्यो कार्यदिशामा सम्पूर्ण प्रतिनिधिहरूलाई एकरूपताका साथ हामीले बुझाउने छौँ ।’ त्यसबाट प्रशिक्षित भएर कार्यक्षेत्रमा प्रतिनिधिहरू फर्कने उनले जानकारी दिए । महाधिवेशन सकिएलगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताएका छन् । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढंगले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने संकल्प गरेर फर्कने उनको भनाइ छ । एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरूलाई मैत्रीपूर्ण ढंगले समाधान गर्दै कम्युनिस्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले दाबी गरेका छन् ।

Published On: Time : 3:25:38  

तपाईको प्रतिक्रिया