दुई हजार मागपत्र प्रमाणीकरण


काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले पहिलो त्रौमासिकमा करिब २ हजार वटा मागपत्र प्रमाणीकरण गरेको छ । दूतावासले साउनदेखि असोज मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै १ हजार ९ सय ९५ वटा मागपत्र प्रमाणीकरण गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा १ हजार ४ सय ७९ वटा समूहगत मागपत्र प्रमाणीकरण गरिएको छ । त्यस्तै व्यक्तिगत मागपत्र प्रमाणीकरणतर्फ ३ सय ७९ र घरेलु श्रमिकको पुनः श्रम स्विकृतिका लागि १ सय ३७ वटा सिफारिस गरिएको दूतावासले जनाएको छ । यो अवधिमा २८ हजार ५ सय २६ जनाले मागपत्र प्रमाणीकरणको सेवा लिएको दूतावासले जनाएको छ । त्यस्तै, यो अवधिमा १ सय १६ वटा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको दूतावासले जारी गरेको तीन महिनामा सम्पादन गरेको कार्यको विवरण उल्लेख गरिएको छ ।

त्यसैगरी, १ सय ८१ वटा विवाह, जन्म दर्ता र नाता प्रमाणीकरणको काम गरिएको जनाइएको छ । त्यस्तै ७७ वटा अधिकृत वारेसनामा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै ७० वटा प्रहरी चारित्रिक प्रमाण पत्र तथा मन्जुरीनामा जारी गरिएको छ । दूतावासले जारी गरेको प्रगति विवरणमा तीन महिनाको अवधिमा एनओसी जारी गरी नेपाल पठाइएका शवको संख्या ४२ वटा रहेको देखिएको छ ।

२१ लाख बढी कतारी रियाल राजस्व तथा क्षतिपूर्ति प्राप्ति
यसैबीच, तीन महिनाको अवधिमा दूतावासले राजस्व तथा क्षतिपूर्तिबापत २१ लाखभन्दा बढी कतारी रियाल रकम प्राप्ति भएको जनाएको छ । यो अवधिमा २१ लाख ६० हजार ४ सय १२ कतारी रियाल रकम प्राप्त भएको दूतावासले जारी गरेको कार्य विवरणमा जनाइएको छ । दूतावासले प्राप्त भएको रकममध्ये राहदानी शिर्षकबाट ६ लाख ३४ हजार २ सय ९७ कतारी रियाल राजस्व संकलन भएको देखिएको हो ।

भिसा शुल्कबाट ६ हजार २ सय ७० कतारी रियाल राजस्व संकलन भएको छ भने अन्य शिर्षकमा १५ लाख १९ हजार ८ सय ४५ कतारी रियाल प्राप्त भएको जनाइएको छ । यसैबीच, बिमा र अन्य शिर्षकमा १६ लाख ६९ हजार २ सय ३३.६४ कतारी रियाल क्षतिपूर्तिबापतको रकम कन्सुलर सेवा विभागमा पठाइएको पनि दूतावासले जनाएको छ ।

Published On: Time : 3:29:05  

तपाईको प्रतिक्रिया