‘शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो’ -बालेन्द्र शाह

प्रकाशित मिति :  213 पटक हेरिएको

 महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौ“ ।
महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ ।
ठाउँठाउँमा इन्सिनरेटर राखेर फोहोरको मात्रालाई एक प्रतिशतमा झार्न सकिन्छ ।
सरकारी कार्यालयले चर्चेको केही जग्गा लिएर महानगरको लगानीमा सार्वजनिक शौचालय बनाउँछौँ।
कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राखिनेछ ।

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख शाहले ह्वाइट हाउस इन्स्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ ।

माध्यामिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन् । प्रमुखमा निर्वाचित ३२ वर्षीय शाहसँग काठमाडौं महानगरको समग्र विकासका बारेमा राससका अशोक घिमिरे र शर्मिला पाठकले गरेको कुराकानीः
काठमाडौंको प्रमुखका रुपमा निर्वाचित हुनुभयो, तपाईंका योजना र प्राथमिकता के–के हुन् ?
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ। पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ ।

प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाडौं उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ ।

यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसाग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरण भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहााको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । प्रत्येक व्यक्ति यहा“को कला, संस्कृति र इतिहासका बारेमा जानकार हुनुपर्छ ।

महानगरले यसअघि बनाएको पाठ्यक्रमले यी विषय समेट्न सकेनन् भन्ने हो ?
यसअघिका पाठ्यक्रमले धेरै कुरा समेट्न सकेको छैन । लिखितरुपमा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । यहाँको कला संस्कृति, सांस्कृतिक वैभवका बारेमा बुझ्न धेरै पुस्तक छन् । तर त्यो विषयलाई व्याख्या गर्नसक्ने जनशक्ति छैनन् । प्राविधिकरुपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ ।

मोबाइलमा ‘भिडियो च्याट’ गरेर मात्र अनलाइन कक्षा हुँदैन, यसले शैक्षिक स्तर बढाउँदैन । प्रविधि तीव्ररुपमा परिवर्तन भइरहेको छ । ‘थ्रिडी भिजुअलाइज’मार्फत उदाहरण देखाउँदै पढाउन थालियो भने विद्यार्थीले सजिलै बुझ्न सक्छन् । अहिले शिक्षा भार जस्तो भएको छ । विद्यालय जान गाह्रो मान्ने अवस्थाको अन्त्य गरी रमाइलो तरिकाले हा“स्दै खेल्दै सिक्ने वातावरण बनाउने हो ।

साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ । कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।

आगामी पा“च वर्षसम्म तपाईंले महानगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ?
पहिलो कुरा आममानिसको मनोविज्ञान शैक्षिक पूर्वाधार नै पहिलो सर्त हो भन्नेछ । अभिभावकका तर्फबाट विद्यालयमा लिफ्ट छ कि छैन भन्ने हेर्ने हुन्छ । तर लिफ्टले पढाइलाई कुनै सहयोग गर्दैन । त्यो कुरालाई विस्तारै परिवर्तन गर्दै लैजान्छौँ।

विद्यालयको शौचालय, बगैँचामा निकै सुधार गर्न सक्छौँ । कक्षाकोठा र शौचालय अपांगतामैत्री बनाउन सकिन्छ । छात्राका लागि आवश्यक सेनेटरी प्याडलगायतको व्यवस्था गर्न सकिन्छ । आन्तरिक सजावट तथा व्यवहारको दृष्टिकोणबाट कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बसौँबसौँ, पढौँपढौँ लाग्ने बनाउन सकिन्छ । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।

स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं ।

कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ । यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौ“ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ ।

महानगरमा रहेको खानेपानीको समस्यालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले भइरहेको ‘बोरिङ’बाट नै खानेपानी उपलब्ध गराउने हो । बोरिङको ‘लेभल’ हामीले बढाउन आकासेपानीको प्रयोग गरी भूमिगत जल सतहलाई ‘रिचार्ज’ गर्नुपर्छ । घरका छतमा परेको पानी पाँच फिट गहिरो खाडल खनेर ग्राभेल राखेर जमिनमुनि पठाउने हो । एउटा घरको आकासेपानी जमिनमुनि पठाउँदा १० वटा घरलाई खानेपानी पुग्छ । यसले बोरिङ गरेको छ उसले अनिवार्य ‘रिभर्स बोरिङ’ गर्नुपर्छ ।

सरकारी कार्यालयमा रिभर्स बोरिङ गराइयो भने आसपासका क्षेत्रमा बोरिङको लेभल बढ्छ । खाली रहेका स्थान, सरकारी कार्यालयका परिसरमा ससाना पोखरी खनेर आकासेपानी जम्मा गर्न सकिन्छ । आकासेपानी पोखरीमा जम्मा गरेर उपत्यकाका नदी नालामा आउने बाढी पनि रोक्न सकिन्छ । यसबाट भूमिगत जल सतह माथि आउ“छ । बोरिङ र इनारको सतह बढ्छ, यसले खानेपानीको समस्या केही हदसम्म कम हुन्छ ।

ढुंगेधाराको संरक्षण गरी विगतमाझैँ नियमित पानी आउने बनाउन सकिन्छ । धेरै ढुंगेधारामा पुनः मूल फुटाउने योजनामा छौँ । वडा नं १७ मा मात्रै १७ भन्दा बढी ढुंगेधारा छन् । ती ढुंगेधाराको मूलमा पोखरी खनेर ढुंगेधारामा पानी निकाल्न सकिन्छ । ढुंगेधाराबाट ट्यांकीमा जम्मा गरेर वितरण गर्न सकिन्छ ।

उपत्यकाको फोहोर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रह“दै आएको छ । यसको दीर्घकालीन समाधान कसरी निकाल्नुहुन्छ ?
अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडा“डामा बनाइएको नया“ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन । त्यसलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्छौं ।

ठाउँठाउँमा इन्सिनरेटर (फोहोर जलाउने मेसिन) राखेर फोहोरको मात्रालाई एक प्रतिशतमा झार्न सकिन्छ । स्रोतमा नै कुहिने र नकुहिने गरी फोहोरलाई छुट्याउन सकिन्छ । कुहिने र नकुहिने फोहोर एउटै गाडीमा हालेर लैजाने भए नागरिकले किन फोहोर छुट्याएर राख्छन् र ? फोहोर लिनका लागि हामी दुई प्रकारका गाडीको व्यवस्था गर्छौं ।

सातामा दुई दिन फोहोर लिन आउँदा फरक–फरक दिन कुहिने र नकुहिने गाडी पठाउँछौँ । टोलटोलमा कन्टेनर राखिएको अवस्थामा पनि दुई/दुई वटा कन्टेनर राख्छौँ । स्रोतमा नै फोहोरलाई छुट्याउन सकियो भने कुहिनेलाई जैविक मलका रुपमा प्रयोग गर्न सक्छौँ । नकुहिने फोहोरको त्यहीअनुसार व्यवस्थापन गर्न सकिन्छ ।

जैविक मललाई राजधानी नजिकका खेतीयोग्य काभ्रेपलाञ्चोक, धादिङलगायत जिल्लामा बिक्री गर्न सकिन्छ । उपत्यका आसपासका जिल्लामा रहेका खेतीयोग्य खाली जमिन भाडामा लिने योजना पनि बनाएका छौँ । त्यहाँ खेती गराएर केही व्यक्तिलाई रोजगारी पनि दिन सकिन्छ ।

ट्राफिक व्यवस्थापन र अव्यवस्थित पार्किङलाई कसरी समाधान गर्नुहुन्छ ?
यसअघि पनि राति १० बजेसम्म सार्वजनिक यातायात चलाइयो । तर रातिसम्म कार्यालय खुलेनन् त्यसो नहुँदा यात्रु भएनन् । हामी कार्यालय समयलाई हेरफेर गर्ने सोचमा छौँ । कुनै कार्यालय मध्याह्न १२ देखि सा“झ ७, कुनै अपराह्न २ देखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिन्छ ।

रात्रिकालीन सुरक्षाका लागि पहिलो चरणमा महानगर क्षेत्रमा १० हजार सिसिटिभी क्यामरा जडान गर्छौं । नगर प्रहरीलाई सुरक्षा तालिम दिन्छौँ । बेलुका ढिलासम्म कार्यालय खुले भने बेलुका बस चढ्ने यात्रु पनि हुन्छ । हरेक बसमा सिसिटिभी र जिपिएस सिस्टम जडान गर्छौं । टोलटोलमा सिसिटिभी र सडक बत्ती हुन्छन् । प्रत्येक व्यक्ति कहा“ पुगेको छ भनेर जिपिएसबाट ‘ट्र्याक’ गरेर हेर्न सकिन्छ ।

सिसिटिभी तत्काल खरिद गरेर जोड्न सकिन्छ । सिसिटिभीसँगै सार्वजनिक बसमा जिपिएस सिस्टम लगाउन सकिन्छ । कतिपय चोकमा यसअघि नै सिसिटिभी जडान गरिएका छन् । तर प्रभावकारी अनुगमन नहु“दा यसले काम गरे÷नगरेको कसैलाई पनि थाहा छैन । सिसिटिभीसँगै सडक बत्ती पनि जोड्छौँ ।

पूर्वाधार निर्माणमा विभिन्न निकायबीच समन्वय नहुँदा नगरवासीले सास्ती खेप्नु परिरहेको छ नि ?
सडक विभागले सडक बनाउँछ । सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ । यसको अनुगमन महानगरले गर्छ । म आफैँ पनि इन्जिनियर हुँ, म पनि जान्दछु । डेन्सिटी पुगेन भने फेरि पेल्न लगाउन सकिन्छ । काम भइरहेको स्थानमा अनुगमन भइरहेको छैन ।

सडकमा ढलान गरियो तर ढलानमा प्रयोग गरिएका सामग्रीको गुणस्तर कस्तो छ ? निर्माणकर्ताले जस्तो प्रतिवेदन दियो त्यसलाई मान्ने गरिएको छ । अब त्यस्तो हुँदैन, सडकमा कस्ता सामग्रीको प्रयोग गरिएको छ, पहिले त्यो महानगरको प्रयोगशालामा परीक्षण हुन्छ । अनुगमनलाई प्रभावकारी बनाउँछौँ । बाटामा हुने खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’को व्यवस्था गर्नेछौँ ।

सार्वजनिक शौचालयको उचित प्रबन्ध नहु“दा नागरिक छन् । यसलाई कसरी समाधान गर्नुहुन्छ ?
सरकारी कार्यालयले चर्चेको केही जग्गा लिएर महानगरको लगानीमा सार्वजनिक शौचालय बनाउँछौँ। कार्यालयस“ग सहकार्य गरी ‘कम्पाउण्ड’को पर्खाल भत्काएर थोरै जग्गामा शौचालय बनाउन सकिन्छ ।

सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था गर्न हामीले नगरभित्र रहेका रेस्टुरेन्टस“ग पनि छलफल गरेका छौँ। रेस्टुरेन्टको शौचालयलाई पनि सर्वसाधारणले प्रयोग गर्नसक्ने बनाउँछौँ । त्यसबापत उहाँहरुलाई करमा केही छुट दिन सकिन्छ । त्यस्ता रेस्टुरेन्टमा विशेष प्रकारका संकेत राखिनेछ । त्यस्तो संकेत राखेको स्थानमा कसैस“ग अनुमति नलिई शौचालयको प्रयोग गर्न सकिन्छ ।

काठमाडौंको कला, संस्कृति, यहा“को सांस्कृतिक वैभवलाई कसरी अगाडि बढाउनुहुन्छ ?
कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी राख्ने छैन । यसका लागि हामीले भक्तपुर नगरपालिकासँग विभिन्न चरणमा छलफल गरेका छौँ । यहाँको काष्ठकला, मूर्तिकलाको संरक्षणका लागि दक्ष जनशक्तिको उत्पादन गर्न तालिम केन्द्रको व्यवस्था गर्नेछौँ ।

काठमाडौंका प्राचीन कला, संस्कृतिको संरक्षण गर्न ‘अरनिको’ नै चाहिन्छ भनेर मैले पैरवी गर्दै आएको छु । म आफैँले पनि लिच्छवीकालीन, मल्लकालीन इतिहासका बारेमा गहिरो अध्ययन गरेको छु । संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटन, कला, संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा बजेट बढाउने सोचमा छौँ । यसले नागरिक र देशको आर्थिक अवस्थालाई नै सकारात्मक प्रभाव पार्दछ ।

यहाँ स्वतन्त्ररुपमा प्रमुखमा निर्वाचित हुनुभयो तर तपाईंका सारथीहरु दलीय प्रतिनिधित्वका साथ प्रस्तुत हुनुहुन्छ होला । कसरी समन्वय गर्नुहुन्छ ?
मलाई सबै पार्टीका नेता कार्यकर्ता तथा जनताले मत दिनुभएको हो । पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका व्यक्तिले पनि मलाई मत दिनुभएको छ ।

उहा“हरुले काम गर्न नदिने, सहयोग नगर्ने भन्ने प्रश्न नै आउँदैन । सबै मेरो ‘सपोर्ट’मा हुनुहन्छ । सबै पार्टीका शीर्ष नेता तथा प्रतिस्पर्धी सबैले मलाई टेलिफोन गरेर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौँ। जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ?

तपाईको प्रतिक्रिया