तुलसीको आत्मकथा सार्वजनिक

प्रकाशित मिति :  64 पटक हेरिएको

काठमाडौं- कास्कीको वार्चोकमा जन्मिएका तुलसी कुमार गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आबद्ध रहे । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् ।

यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षकसमेत बनिसकेका गुरुङले तेक्वान्दोमा अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन् । नेपालका गाउँघरमा खेलिने छेलोदेखि स्विमिङ च्याम्पियन बनेर गुरुङले राष्ट्रिय–अन्तराष्ट्रिय पदकसमेत प्राप्त गरिसकेका छन् ।

विश्वभरका सयौं सैनिक एवम् गैर–सैनिकलाई तालिम दिइसकेका गुरुङले गरिमामय ‘हल अफ फेम’ को उपाधि समेत प्राप्त गरिसकेका छन् । खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरूप गुरुङलाई नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषितसमेत गरिसकेको छ ।

तर हालै उनी लेखकको भूमिकामा समेत देखिएका छन् । उनले लेखेको आत्मकथा ‘तुलसी’ को हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

पौरखी र प्रेरणादयी स्वभावका गुरुङ परोपकारका लागि चिनिन्छन् । हङकङमा बसोबास गर्दै आए पनि मातृभूमि र जन्मभूमिको समृद्धि गुरुङको सपना हो । ‘तुलसी’ मा गुरुङको जीवन यात्रा वर्णन छ । पुस्तकमा उनले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवनयात्राको वर्णन त गरेकै छन् तर उनलाई नजिकबाट बुझेका आमा, श्रीमती, छोराहरूदेखि अन्य व्यक्तिहरूले पनि पुस्तकमा गुरुङप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

पुस्तक वि विल राइज फाउण्डेसनले प्रकाशित गरेको हो । गुरुङ उक्त फाउण्डेसनका अध्यक्ष पनि हुन् । लेखक गुरुङले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सामाजिक कार्यमा उपयोग गर्नेगरि फाउण्डेसनलाई प्रदान गर्ने घोषणा गरेका छन् । २७२ पृष्ठको यो पुस्तकको मूल्य ५ सय रूपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया