मेरो नजरमा कबड्डी–४

प्रकाशित मिति :  214 पटक हेरिएको

सबैको आँखामा परेको फिल्म हो– ‘कबड्डी–४ द फाइनल म्याच’ । यो फिल्म आज दर्शकहरुको माझ छाइरहेको छ । कथा कस्तो छ त ?काजीको मेन लिडमा रहेका दयाहाङ राईको के यसपालि बिहे होला ? यस्तै सेरोफेरोमा घुमेको कथा रहेको छ । कबड्डीमा मैयालाई काजीको आँखै अगाडिबाट विवेकले सहर भगाउँछ । दोस्रोमा सोल्टिनी बमकाजीसँग भाग्छिन् । तेस्रोमा कासी सोल्टिनी आफ्नो प्रेमीसँगै भाग्छिन् ।

तीन पटक धोका पाएका वीरकाजी शेरचनको अब चौथोमा के बिहे हुन्छ त ?

फिल्मका पहिलो भागमा वीरकाजी शेरचनको जन्त जानेबेलामा बेहुलीलाई एक बाघ भएको नकाब लगाएको व्यक्तिले भगाएको देखिन्छ ।  काजी यसपालि भने कारमा पछ्याइरहेका हुन्छन् तर उनी पुन : बिहे गर्न असफल हुन्छन् । कथामा खासै ट्विस्ट नभएको देखियो । त्यसपश्चात् लामा बनेर ब्रह्मचारी बस्ने निर्णय काजीले लिन्छन् ।

उता काजीका बाबु भने वंश नासिने पीरले कि छोराको बिहे कि बाउको बिहे भन्ने होडमा हुन्छन् ।यस दृश्यले आमनेपालीको एउटा पारिवरिक पीडा पोखाएको छ । वंश बचाउन कि दोस्रो बिहे वा छोराछोरीलाई छिटो बिहे गर्ने दबाबको भूमिकामा उक्त दृश्यले व्यंग्य गरेको छ । त्यसो त आजभोलिको जमानाको जवाफ काजीले वंश जोगाउने ठेक्का नलिएको बताउँछन् ।

अब कथामा शान्ति (मिरुना मगर)को आगमन हुन्छ । को हुन् शान्ति ? फिल्मको अघिल्लो शृंखलामा कार्यकर्ता बन्दा खाना खुवाउने एक नारीपात्र अर्थात् कबड्डी–४ को मुख्य पात्र । काजी भने  यस शृंखलामा विद्यालयको अध्यक्ष भएका छन् । त्यसैले शान्ति काजीकै विद्यालयमा पढाउन आएकी हुन्छिन् ।

तर, काजी भने लामाको भेषमा गुम्बामा भेटिन्छन् । शान्ति कि त राजीनामा कि त नियुक्तिपत्र दिनू भनेर हिँडछिन् । सोही दृश्यमा छन्त्याल (बुद्धि तामाङ) र बिके (विजय बराल)ले कुुटाइ खाएको देखाइन्छ । साथीकाे सम्बन्ध के हो भन्ने यहाँ  दर्साइएको छ ।

गाउ“मा अब एक मात्र मास्टर डिग्री पढेको बमकाजी (सौगात मल्ल)को इन्ट्री हुन्छ । बाजागाजाका साथ र पढेको व्यक्ति अडिने ठाउँ पनि उही मालाको भट्टी देखाइन्छ । यो दृश्यले हाम्रो समाजको निकै पाच्य व्यंग्य गरेको देख्न सकिन्छ । यसका साथै काजीले शान्तिको घरमा जाँडरक्सी नखाएको दृश्यलाई सबल पक्ष मान्न सकिन्छ ।

बमकाजी आफ्नो पढाइमा गर्व गर्दै गाउँबाट रोजगारीका लागि सहर जाने निर्णय गर्छ । तर, गाउँमा एक्कासी शान्तिलाई देखेर ऊ रोकिन्छ । अब पढेको व्यक्तिले सोझै कि त पैसा कि त सौन्दर्य भरिएकी नारी गाउँमा भएमात्र लक्का जवानहरु गाउँमा बस्ने रहेछन् भन्ने सन्देश दिँदै छ । आफ्नो पढाइभन्दा पनि मानिसलाई अन्य कुराले लोभ्याउने रहेछ भन्ने यहाँ देखाइएकाे दृश्यले देखाएको छ ।

बमकाजीले समझदारीमा कुरा छिनोफानो नहुने देखेपछि जबरजस्तीमा शान्तिलाई लग्छन् । हो, कुनै समयमा तानाशाही वा प्रभुत्व जमाउनेहरुले छोपेर वा केटालाई केटी मन परेमा जबरजस्तीका साथ चोरेर लाने गरेका थिए । कुनै सम्प्रदायप्रति खोट वा प्रश्न गराउन खोजेको त होइन तर मनोरञ्जनात्मकमा पनि हामीले हेरेको फिल्मले कस्तो सन्देश दिन खोजेको हो भन्ने कुरामा आममानिसको चासो बुझ्न खोजेको हो ।

कुनै समयमा आफ्नो जोस जाँगर अर्थात् मारपिट गर्ने मान्छे समयले बदल्ने रहेछ भन्ने पक्ष पनि देखाइएको छ । याे  फिल्मको सबल पक्षको रुपमा लिन सकिन्छ । आफ्नो अगाडि नै मिठो भाग परेको छ वा आफ्नो अगाडि नै फल पाकेकोमा वास्ता नगर्दा काजीले भोगेको कुरालाई चाहिँ राम्रोसँग हाम्रो जीवनसँग दाँज्न सकिन्छ ।

अन्तत : यसपालि काजीले शान्तिलाई चोरेर लगेको घरबाट खोसेर ल्याएको छ । यसरी काजीको बिहेको कबड्डी सकिएको देखाइएको छ । कठिनाई जेजस्तो भए पनि अन्तमा फल मिठो मानिएको  पाइन्छ  ।

आमदर्शकको कबड्डी–४ को पर्खाइ यही समाप्त भएको छ । समग्रमा निर्देशक रामबाबु गुरुङले कबड्डीको सिरिजलाई मात्र टुंग्याउन खोजेका हुन् या ब्राण्डलाई व्यावसायिक बनाउन खोजेका हुन् भन्ने देखिन्छ ।

-दिपा सुनुवार

तपाईको प्रतिक्रिया