फोहोरको सास्ती कहिलेसम्म ?

प्रकाशित मिति :  88 पटक हेरिएको

हामी राजधानीवासी । देशको केन्द्रीय राजधानीमा बस्छौं भन्दा गर्व गर्न पाउनुपर्ने हो । सबै सेवा सुविधा सहजरुपमा पाउनुपथ्र्यो । त्यसो हुनु राजधानीवासीका लागि भाग्यको कुरा हुन्थ्यो । तर, यहाँ ठीक उल्टो छ । राजधानीवासी हुनुमा गर्व होइन, पीडाबोध गर्नुपरेको छ । हरेक पल, पाइलापाइलामा दुःख झेल्नुपर्छ राजधानीवासीले । एकातिर महँगीको मार । सडकको खाल्डाखुल्डी र दुर्घटनाको जोखिम । धुँवाधुलो, ध्वनी, फोहोरको प्रदूषण । यातायातको साधनमा उस्तै बेथिति । अव्यवस्थित बसाइले दिएको सास्ती । खानेपानीको हाहाकार । सार्वजनिक शौचालयको अभाव । हरेक क्षेत्रमा ठगी । यस्तै यस्तै धेरै छन् राजधानीवासीसँग जोडिएका परिचय ।

राजधानीको मुख्य समस्यामध्येको एक हो फोहोर व्यवस्थापन । राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्या समाधानका लागि जुनसुकै पार्टीको सरकार आए पनि प्रभावकारी काम गरेर देखाउन सकेनन् । अहिले त्यही समस्या जटिल बन्दै गएको छ । भर्खरै सम्पन्न स्थानीय तह चुनावको समययता राजधानीको फोहोर उठ्न सकेको छैन । जसले यहा“का घर–घरदेखि सडक, नदी किनार तथा खुला स्थानसमेत फोहोरले भरिएको छ । फोहोर उठ्न नसक्दा दुर्गन्धित बनेको छ । यसले अर्को महामारी निम्त्याउने खतरा बढेको छ ।

स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्, जुन निकै सराहनीय छ । उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा, माला नलगाउने घोषणासमेत गरेका छन् । निर्वाचित भएलगत्तै उनी फोहोर व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेर त्यहाँको वस्तुस्थिति बुझेका थिए । कार्यभार सम्हालेलगत्तै उनले फोहोर व्यवस्थापनको काम सुरु गरेका छन् ।

यसैबीच सहरी विकास मन्त्रालयमा काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका प्रतिनिधि तथा नुवाकोटका जनप्रतिनिधिसमेतले फोहोर व्यवस्थापनका लागि सहमति गरे । उक्त सहमतिको भोलिपल्टबाटै बञ्चरेडाँडामा फोहोर लगेर गएका गाडीहरुलाई स्थानीयले अवरोध गरे । जुन अवरोध अझै कायम छ । स्थानीयले आफूहरुको समस्या समाधान नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका छन् । प्रहरी परिचालन गरेर फोहोर फाल्ने प्रयास गर्दा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । केही प्रहरी र सर्वसाधारण घाइते भए । त्यसपछि फोहोर फाल्ने काम रोकिएको छ ।

स्थानीयवासीको माग जायज भए पनि सरकारले त्यसको सम्बोधन गर्न नसक्नु दुःखद् छ । पटक–पटक उनीहरुलाई माग सम्बोधनको आश्वासन दिए पनि सरकारले पूरा गर्न सकेका छैन । जसले गर्दा राजधानीको फोहोर व्यवस्थापनमा समस्या बल्झिरहने गरेको छ । यो समस्या बल्झिन नदिन किन प्रभावकारी काम गर्न सक्दैन सरकार ? फोहोरको राजनीति यसरी नै चलिरहने हो सधैं ? यो प्रश्न अहिले चर्कोसाथ उठिरहेको छ । यसको सम्बोधन सरकारले गर्नैपर्छ ।

फोहोरका कारण महामारी उत्पन्न भए मुलुकले अर्को क्षति बेहोर्नुपर्छ । जनस्वास्थ्यस“ग प्रत्यक्ष जोडिएको यो विषयमा सरकार र सरोकारवाला सबै संवेदनशील बन्नुपर्छ । चुनावको बेला गुलिया नारा र आश्वासन मात्र बा“ड्ने राजनीतिक दलहरू र तिनका नेतृत्वकर्ताहरुले यसमा गम्भीर भएर सोच्न पर्दैन ? हामी राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्याबाट कसले देला मुक्ति भन्ने प्रश्न जटिल बनेको छ । त्यसैले अब फोहोर व्यवस्थापनमा निर्णायक कदम चाल्न ढिला गर्नुहुन्न । अझै पनि फोहोर व्यवस्थापनको काम प्रभावकारी हुन नसके अर्को संकट बेहोर्नुपर्ने निश्चित छ । त्यतातर्फ सरकार, राजनीतिक दल र सरोकारवाला सबैको ध्यान पुगोस् ।
-राजेशमान महर्जन, डल्लु, काठमाडौं

 

तपाईको प्रतिक्रिया