हजारौं बालेनहरु जन्मनुपर्छ अब

प्रकाशित मिति :  90 पटक हेरिएको

देशको स्थिति बिग्रँदो छ । सायद यसमा हाम्रो पनि हात छ । त्यसैले दोषी हामी पनि हौं । किनकि, हामीले जान्दाजान्दै पनि उही पुरानालाई मत दिएर विजय गरायौं । पाँच वर्ष अगाडिदेखि आजसम्म के–के भयो सबै थाहा त थियो, या सुनेका त थियौं । खै त बुद्धि पलाएको ?

जग्गा जमिनका मामलामा पनि के कस्ता अनियमितता भए ? कर कसरी बढाइए र किन बढाइए ? शिक्षा र रोजगारी किन राम्रो हुन सकेन ? विकासको नाममा गरिएको अबौं रुपैयाँ खर्चको पारदर्शिता किन भएन ? फेरि हाम्रा सुरक्षाका हकमा पनि सरकार र स्थानीय तहहरुले चाहेजस्तो गर्न सकेका छैनन् भन्ने थाहा थियो । तर, के गर्नु यी सब जान्दाजान्दै पनि लालचले गर्दा हाम्रो विवेकले धर्म छोडिदियो ।

आश्चर्यको कुरा त यो भयो कि बिकेका बुद्धिजीविहरुले बाहेक स्वच्छ बुद्धिजीवि र चेतनशील वर्गले जनतालाई यो बुझाउनै सकेनन् । राजनीतिका ठेकेदारहरु त जुन जोगी आए पनि कान चिरिएकै भइहाले । भोलि यिनै जनप्रतिनिधिले राम्रो काम गरेनन् भनेर फेरि कुन मुखले भन्छौं ? तिम्रा सन्ततिको भविष्य के होला ? हाम्रा पुर्खाले राम्रो सरकार राम्रो प्रतिनिधि विगतमा चुनेका रहेनछन् भन्लान् नि सन्ततिले ?

वास्तवमा माफियाले सरकारलाई चलाएको छ भन्ने कुरामा सबै विस्वस्त भइसकेकै हुन् । तथापि, जनता स्वयं पनि माफियाका चंगुलबाट उम्कन सक्दैनन् । कारण तिनीहरुले बनाएका भित्री संगठनहरु ज्यादै मजबुत भइसकेकै छन् । जनतालाई गोलबन्द गराएर त्यसलाई चिर्न ज्यादै कठिन छ । धेरै समय सरकार र माफियातन्त्रका बिरुद्धमा लेखिरहने यी हात अब केही समयका निमित्त भने पनि विश्राम पाएको छ ।

धेरै समयको मेहनत र चेतनाको प्रभावबाट प्रभावित भएर पनि केही स्वतन्त्र व्यक्तित्वहरुले जनताबाट अभिमत पाएर त चुनावमा विजय हासिल त गरेकै हुन् तर एउटा विषय झनै नाजुक छ । अब तिनीहरुलाई असफल बनाउन धेरै प्रकारका षड्यन्त्रहरु चल्ने भने पक्कै निश्चित छ र, हजारौं बालेन जस्ताका टिम नबनेसम्म एकलो बालेनले समृद्धि दिनै सक्दैन । यदि स्वच्छ, निष्पक्ष, पारदर्शी, कानुनी राज्य रुपमा काम गर्ने हो भने फेरि ती भ्रष्ट कहा“ जाने ? र, कसरी अय्यासी जीवन तिनीहरुले र तिनका परिवारले बिताउने ?

त्यसैले शुद्धीकरणको दिशामा जानुअघि भ्रष्टहरुको छनोट गरी तिनीहरुप्रति कडा कदम चाल्न पनि हिम्मत देखाउनु पहिलो कर्तव्य अब उनीहरुको हुनेछ र आशा गरौं आगामी समय सेट नै स्वतन्त्र जनप्रतिनिनधिले नजितेसम्म बालेनले स्वच्छ हराभरा र सुन्दर सहर बनाई कायापलट गर्न संकल्प गरे पनि गाह्रो मात्र हैन असम्भव पनि देखिन्छ ।
अतः यसै कार्यलाई समर्थन दिनका लागि आगामी संघीय चुनावमा स्वतन्त्र प्रतिनिधिहरु अत्यधिक उठी उनीहरुले विजय गराइ सत्तामा पुर्‍याउन जरुरी छ ।

तबमात्र देशको स्थिति केही मात्रामा भए पनि सुध्रने बाटोको तय हुनेछ । नेपाली जनताको राष्ट्रिय कर्तव्य त्यही हुनेछ । अन्यथा दौराको फेरा समाइ हाम्रो पछि लाग्ने त यी जनता नै हुन् भन्ने भावना बोक्ने नेता महोदयका कलुषित विचारलाई साकार तुल्याउने हामी मुर्ख जनता सिवाय हाम्रो हैसियत अरू कुनैमा गणना हुने देखिँदैन ।

बेलैमा सचेत हुन र अरूलाई पनि सचेत गराउन सके यसैबाट सबै माफियाका मेसिनरी तन्त्रहरु ध्वस्त हुने छन् र भविष्यमा स्वतन्त्रबाटै असल नेतृत्वको जन्म भई स्वतन्त्र नागरिक समाजको जन्म हुन पुगी देशले पनि गति लिनेछ । जनताको स्वर्णिम भविष्यको सुत्रपात हुन जानेछ । अन्यथा, बेथितिको जिम्वेवार को ? भन्ने प्रश्न सदा यस धरतीमा गुञ्जयमान भइरहनेछ । – यज्ञबहादुर कार्की, सूर्यविनायक–७, गुण्डुु, भक्तपुर

 

तपाईको प्रतिक्रिया