गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप दुई विदेशी एयरलाइन्सले उडान भर्दै

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडौं- एक महिनाअघि (जेठ २ गते) औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी एयरलाइन्स कम्पनीले नियमित उडान भर्ने तयारी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नियमित उडान भर्नका लागि एयर अरेबिया र फ्लाई दुबईले आवश्यक प्रक्रिया अघि बढाएका छन् । यी दुवै एयरलाइन्स कम्पनी संयुक्त अरब इमिरेट्स (युएई)का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।

श्रम गन्तव्य मुलुकमा उडान भर्नका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त देखिएका कारण पनि दुवै एयरलाइन्स कम्पनीले व्यावसायिक उडान गर्न प्रक्रिया थालेको प्राधिकरणले जनाएको छ । एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै अनुमतिका लागि प्रक्रिया थालेको प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

‘खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुकमा जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ,’ महानिर्देशक अधिकारीले भने, ‘सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् ।’

यसैगरी विमानस्थल सञ्चालनमा आएस“गै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै दिन उडान भर्ने तयारी गरेको छ । जजिरा एयरले छिट्टै आफ्नो उडान तालिका परिवर्तन गरी सातै दिन उडान भर्ने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए ।

हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रुपैयाँ रहेको छ । भैरहवा–कुवेत रुट भएर आवातजावत गर्दा यात्रुलाई २० प्रतिशत अर्थात् छ हजार ६०० रुपैया“ सहुलियत दिँदै आएको जजिराले जनाएको छ ।

सिंहका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजानलगायत कुवेत हब बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

सरकारले श्रम गन्तव्य मुलुकमा जाने श्रमिकहरुको हितलाई ध्यानमा राखेर भैरहवामा केही दिन अगाडिमात्रै श्रम कार्यालय स्थापना गरेको छ । अब विदेश जाने श्रमिकले सहजै भैरहवाबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।

 

तपाईको प्रतिक्रिया