विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

प्रकाशित मिति :  60 पटक हेरिएको

काठमाडौं- लाखौँको संख्यामा विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशबाटै मतदान गर्न पाउनुपर्ने माग निरन्तर उठाउँदै आए पनि सरकारले अहिलेसम्म त्यस्तो व्यवस्था गर्न सकेको छैन । यद्यपि, राजनीतिक दलका नेतृत्वले विदेशबाट मतदान गर्ने व्यवस्था गर्ने कुरा पटक–पटक बताउने गरेका छन् । सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विदेशबाट मतदानको व्यवस्था गर्ने विषय उल्लेख गरेको छ ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई भेटेरै ध्यानाकर्षण गराएका छन् । महामन्त्रीद्वयले प्रमुख आयुक्त थपलियालाई विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारबाट बञ्चित नगर्न सर्वोच्च अदालतले दिएको आदेशको स्मरण गराए ।

अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले आयोगले पनि सोहीअनुसार निर्णय गनुपर्ने उनीहरुको भनाइ छ ।कांग्रेसको केन्द्रीय कार्यसमितिमासमेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि विभिन्न राजनीतिक दल र सरकारसँगको सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिए ।

‘विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छौं,’ प्रमुख आयुक्त थपलियासँगको भेटपछि उनले भने ।त्यस्तै अर्का महामन्त्री थापाले निर्वाचन ऐन संशोधन गर्नका लागि छिट्टै संसद्मा ऐन पेस गर्ने तयारी भइरहेको बताए । उनले आयोगलाई आफूहरुले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कार्य अघि बढाउन सुझाव दिएको बताए ।

‘विदेशमा रहेका नेपालीलाई सकेसम्म प्रत्यक्ष निर्वाचनमा मत हाल्ने व्यवस्था गर्न र त्यसो नभए समानुपातिकतर्फ भए पनि मतदान गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने । यसका लागि मिल्नेगरी कानुन बनाउन कांग्रेसले आवश्यक पहल गर्ने महामन्त्री थापाले बताए ।आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली संकलन कार्य अगाडि बढाएकाले मतदाता संकलनको क्रममा देखिएको भीडलाई कम गरी सबै स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न पनि माग गरेको थापाले बताए ।

‘काठमाडौंमा रहेका देशभरका मतदाताको नामावली संकलन काठमाडौंबाट गर्न मिल्ने व्यवस्था भएको छ, यो राम्रो कार्य हो, काठमाडौंमा भएको भीडभाडलाई कम गर्न काठमाडौंको अलग्गै र काठमाडौंबाहिरका व्यक्तिको अलग्गै नामावली संकलन गर्ने वातावरण निर्माण गर्न प्रमुख आयुक्तसमक्ष अनुरोध गरिएको छ,’ थापाले भने ।महामन्त्रीद्वयसँगको भेटमा प्रमुख आयुक्त थपलियाले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न विद्यमान कानुनले नदिने प्रस्ट पारेको बताइएको छ ।

यस विषयमा सबै दलसँग आवश्यक छलफल गरेर साझा धारणा बनाएपछि सरकारसँगको परामर्शमा अघि बढ्ने प्रतिक्रिया दिएको आयोगका एक अधिकारीले बताए । विद्यमान कानुनअनुसार विदेशबाट मतदान होइन, मतदाता नामावलीसमेत संकलन गर्न नपाइने आयोगका अधिकारीहरुको भनाइ छ । उनीहरुको भनाइमा कानुनमा परिवर्तन गरेर पनि छ महिनापछि हुने चुनावमा विदेशमा हुने नेपालीले मतदान गर्न पाइहाल्ने अवस्था हुँदैन ।

सर्वोच्च अदालतले पाँच वर्षअघि नै सरकार र निर्वाचन आयोगलाई विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आदेश दिएको थियो । तर, अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन । त्यसका लागि दलीय सहमति र छलफल हुन नसक्दा आयोगले कानुनको आवश्यक मस्यौदासमेत तयार पार्न सकेको छैन ।

तपाईको प्रतिक्रिया