जेठमा करिब ५८ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने बढ्दै

प्रकाशित मिति :  69 पटक हेरिएको

काठमाडौं- वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या पछिल्लो समय बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार रोजगारीका लागि विदेशिने नेपालीको संख्या उल्लेख्य बढेको पाइएको हो ।

दुई वर्षभन्दा बढी कोभिड–१९ महामारीका कारण थला परेको वैदेशिक रोजगारको क्षेत्रमा गत वर्षदेखि सुधार हुन थालेको थियो । कोरोनाविरुद्धको खोप प्रयोगमा आएसँगै विस्तारै यो क्षेत्र लयमा फर्कन थालेको हो । चालु आर्थिक वर्षको सुरुआतबाट वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा क्रमशः सुधार हुँदै आएको विभागको तथ्यांकमा देखिन्छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५७ हजार ७८३ जनाले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । यसभन्दा अघि अर्थात् वैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका थिए । यो तथ्यांकले वैशाखमा भन्दा जेठमा वैदेशिक रोजगारीका लागि जानेको संख्या ३०.३३ प्रतिशतले बढेको देखाउ“छ ।

जेठ महिनामा पहिलो श्रम स्वीकृति लिनेमा ५० हजार २६९ जना पुरुष र सात हजार ५१४ जना महिला रहेको विभागले जानकारी दिएको छ । यसरी श्रम स्वीकृति लिनेहरुले युरोप र खाडी मुलुकलाई प्रमुख श्रम गन्तव्य बनाएका छन् । सबैभन्दा बढी श्रम स्वीकृति मलेसिया रोजगारीमा जाने श्रमिकले लिएका छन् । विभिन्न म्यानपावरमार्फत रोजगारीका लागि मलेसिया जान जेठ महिनामा १९ हजार २३८ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी कुवेतमा रोजगारीमा जानका लागि आठ हजार ४९३ जना, युएईका लागि आठ हजार ५१ जना, साउदी अरेबियाका लागि छ हजार १५८ जना, कतारका लागि पाँच हजार २३६ जना, रोमानियाका लागि दुई हजार २३२ जना, बहराइनका लागि एक हजार २६२ जनाले पहिलो श्रम स्वीकृति लिएका छन् ।

यस्तै, ओमानका लागि ४०६ जना, साइप्रस जानका लागि ४०० जना, बु्रनाइ २१५ जना, मौरिससका लागि १५०, जापान ६९ जना, अल्बानिया ५५ जना, जोर्डन आठ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।विभागका अनुसार रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने २९ हजार ३८२ जना रहेका छन् ।

जसमा पुरुष २६ हजार ३९ जना र महिला तीन हजार ३४३ जना अन्तिम स्वीकृति पाएका छन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेसागत, सीप भएका र सीप नभएका कामदारहरुको संख्या ६२ हजार ३४९ रहेका छन् । जसमा ५६ हजार ५७७ जना पुरुष र पा“च हजार ७७२ जना महिला रहेका छन् ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र वैशाखमा ४४ हजार ३३३ जनाले श्रम स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया