एमालेमा प्रजापरिषद्काे उद्देश्य अमर रहेकाे : ओली

पर्चा दिवस

प्रकाशित मिति :  91 पटक हेरिएको

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रजापरिषद्काे उद्देश्य अमर रहेकाे बताएका छन्  ।

टकंप्रसाद आचार्य स्मृति प्रतिष्ठानले विहीबार आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।

टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए  । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ ।

ओलीले आचार्यले तत्कालिन समयमा छरेका पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

उनले भने , “देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।”उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने उनले बताए  । “प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्”, उनले भने ।

प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले आचार्यले छरेकाे पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए । “मुलुकमा परिवर्तन ल्याउन टकंप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ”, उनले भने। आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।

उनले आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । “टकंप्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो”, उनले भने ।

यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा.महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया