एक नर्सको अनुभूति

प्रकाशित मिति :  1431 पटक हेरिएको

अञ्जना लामा मोक्तान

जीवनका छ वसन्त पार गरिसकेकी छु, त्रिवि शिक्षण अस्पतालको नियोनेटमा । यहा काम गर्न सुरु गरेपछिका कैयन मीठा–तीता सम्झनाहरु छन् । स्मृतिका पानामा कोरिएका ती सम्झनाहरुले कहिले खुसी त कहिले दुःखी बनाइदिन्छ । सुखद् स्मृतिका पाना पल्टिदा हर्षित हुन्छु । त्यस्तै गरी दुःखी हुन्छु, जब स्मृतिका दुःखद् पानाहरु पल्टिन्छन् ।त्यसो त हर्षित वा दुःखी हुन मन चाहिन्छ । फेरि, मन त सबैसग हुन्छ । आफ्नो दुःखमा रुने, सुखमा हास्ने सबैले गर्छन् ।

तर, नर्सहरु अरूको दुःखमा रुने, अरूको सुखमा हास्ने हुनुपर्छ । यो गुण, यो समवेदना सबै नर्समा हुनुपर्छ । अझ नियोनेट नर्समा त झन् यस्तो विशेषता हुनु अनिवार्य नै छ । नियोनेट नर्सहरुले शब्दद्वारा नलेखिएका, बोलीद्वारा उच्चारण नगरिएका उमंग, भोक, प्यास, दुःख, पीडाजस्ता मानवीय भाव अनुभवहरुलाई चिन्न सक्नुपर्दछ ।

कठै भर्खर जन्मेका शिशुहरु कति निरीह हुन्छन्, चराका बचेरा जस्तै । आमाले चारो ल्याइदिए खाएर जीवित रहने नत्र भोकभोकै मृत्युवरण गर्न बाध्य हुने । त्यसैले, सिकारीले एक आमा चरालाई मारिदियो भने कम्तीमा पनि दुईवटा प्राण जान्छ । के बुबा चराले आमाले जस्तो निष्ठापूर्वक बचेराको लालनपोषण र हेरविचार गर्छ र ? यसबारे मैले पनि जानकारी लिन बाकी छ तर, हाम्रो पितृसत्तात्मक समाजमा धेरैजसो परिवेशमा बुबाले आमाले जसरी जिम्मेवार भएर बचेराको हेरचाह गरेको देखि“दैन । के बचेराको जीवनको रक्षा गर्नु बुबाको कर्तव्य होइन र ?

यति लेखिरहदा कतिपय बुबाहरुको मनमा चसक्क बिझ्न सक्छ । यसका लागि म क्षमा माग्न चाहन्छु । हो, कति बुबाहरुले आफ्ना नवजात शिशु र आमाको जिउज्यान लगाएर स्याहारसुसार, हेरविचार गरेको सराहनीय उदाहरण पनि नभएको होइन । श्रीमान्–श्रीमती एकै रथका दुई पांग्रा हुन्, एउटा पांग्राले आफ्नो दायित्व भुले रथ खडा रहन सक्ला र ?

सिकारीकै कुरा गर्दा हाम्रो समाजमा पनि निकै क्रुर सिकारीहरु छ्यापछ्याप्ती छन् । तर, यी सिकारीहरु वाणले तीर हान्ने वा बन्दुकले गोली हान्ने सिकारी होइनन् । यी त रोग, गरिबी, अशिक्षा, भेदभाव, कुसंस्कारको मुखौटा लगाएर समाजलाई त्रसित बनाउने र बेथिति बढाउने सिकारी हुन् । यस्ता सिकारीहरूले कहिलेकाही शिशुलाई आमाबुबाबाट टाढा हुन बाध्य पार्दछन् । कहिलेकाही दम्पतीहरु यस्ता सिकारीको चपेटामा परी नवजात शिशुलाई अलपत्र छाडेर हिड्न बाध्य हुन्छन् । संसार र मानवीयतालाई बाटो देखाउने क्षमता लिएर यस धर्तीमा पाइला टेकेका शिशुको जीवनको बाटोले नै दिशा फेरिदिन्छ्र । यस्ता सिकारीहरुलाई नियन्त्रणमा राख्न कति सक्षम छ त हाम्रो समाज ? यो प्रश्नको उत्तर सबैमाझ जगजाहेर नै छ ।

कहिलेकाही मन नै क्षतविक्षत हुने स्मृतिका पानाहरु पल्टिन्छन् । कैयनपटक त भर्खरै संसारमा रुदै पाइला टेकेका नवजात शिशु आमाबुबा र आफन्तलाई रुवाएर क्षणभरमै यो संसार छाडेर जान्छ । के उसको भाग्य लेख्ने मसी सकिएर अल्पायुमै संसार छोडेर जाने भाग्य लिएर आएको हुन्छ र ? दम्पतीको नौ महिनाको संघर्ष, परिवारको सपना र खुसीहरु ऊसगै विलीन हुनपुग्छ । तर, कहिलेकाही हाम्रो तप, परिश्रमले जीवन/मरणसग लडिरहेको शिशुलाई मृत्युको मुखबाट खोसेर ल्याउदा, अपूरो भाग्यको लेखनीलाई फेरि पूरो बनाउ“दा भने मनमा हर्षका लहरहरु तरंगित हुन्छन् । अनि उसको आफन्तले खुसी भएर जीवन जोगाउने यस्तो पुण्यको काम गर्ने भएर नै डाक्टर, नर्सहरुलाई भगवानको दर्जा दिएको भन्ने सुन्दा त देवता बस्ने स्वर्गमै छु कि जस्तो अनुभूति हुन्छ ।

कति दम्पती त छोरा जन्मे खुसी हुने, हर्षाेल्लास मनाउने र छोरी जन्मे ठुसुक्क पर्ने परिपाटी अहिले पनि हाम्रो समाजमा जीवितै छ । विचरा भर्खर जन्मेकी नानी अपहेलित भएर, कति ठाउमा त कष्टकर र भेदभावपूर्ण जीवन व्यतीत गर्न बाध्य हुन्छे । कहिले छोरी भएकै कारणले जन्मिनेबित्तिकै बिरामी पर्दा पनि पाउनुपर्ने उपचार नदिएर मृत्युलाई सुम्पिदिने दृश्य अहिले पनि देखिन्छ । भेदभाव देशको कानुनबाट त उन्मूलन भइसक्यो तर, के हाम्रो व्यवहार, सोच/विचारबाट उन्मूलन भयो त ?

खैर, म त नियोनेट नर्स, शिशुहरू रूदा किन रोएको भन्ने थाहा पाउछु । उनीहरुसग हृदयले वार्तालाप गर्छु, उनीहरुको सक्दो चाहिदो स्याहारसुसार गर्छु । छ वसन्त (छ वर्ष)देखि यही काम गर्दै आएकी छु । कहिलेकाही जति फकाउदा पनि नफकिने रुञ्चे त कहिले जति उठाउ“दा पनि नउठ्ने ध्यानमग्न भइरहने शिशु पनि देखेकी छु । कुनै जति खुवाउदा पनि नअघाउने खञ्चुवा शिशु हुन्छन् भने कुनै दुई घुड्कोमै तृप्त भएर खानै नमान्ने सन्तुष्ट शिशु पनि देखेकी छु । रोगले ग्रसित भएर मर्नु न बाच्नुको दोसाधमा अड्केकोदेखि मृत्युलाई जितेर गर्वले गमक्क फुलेको शिशु पनि देखेकी छु ।

शिशुहरूले दिएका यी सम्झनाहरु नै हुन् मेरो जीवनका अमूल्य प्राप्ति । यी प्राप्तिहरुलाई मनमा संगालेर, सम्हालेर, सजाएर आफ्नो कर्मपथमा अनवरत लागिरहेकी छु, लागिरहने छु ।

तपाईको प्रतिक्रिया