पर्यटन प्रवद्र्धनमा ध्यान दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं

प्रकाशित मिति :  43 पटक हेरिएको

कोरोना महामारीका कारण ठप्प बनेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन लागेको छ । विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । त्यसैले पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटकहरुका लागि विशेष सुविधा दिन आवश्यक देखिन्छ । नेपालमा घुम्न आउने पर्यटकहरुमाथि विभिन्न क्षेत्रमा ठगी हुने गरेको छ ।

हवाई व्यवसायीले महँगो भाडा लिएर ठग्ने, होटलदेखि पर्यटकीय बसहरुले समेत विदेशी भनेपछि ठग्न सुरु गर्छन् । ट्रेकिङ गर्न पनि नेपालीलाई भन्दा चर्को शुल्क लिन्छन् ।विदेशी पर्यटकको अहिले पहिलेको जस्तो चाप छैन । नेपालमा भएका केही पर्यटकलेसमेत राम्रो सेवासुविधा पाउन सकेका छैनन् ।

सरकारले पनि यसतर्फ ध्यान दिएको छैन । हरेक पाइलामा विदेशी पर्यटक ठगिएका छन् । उही सामान नेपालीलाई भन्दा दोब्बर मँल्यमा बेच्ने गरिन्छ । पर्यटकलाई गर्ने व्यवहार राम्रो छैन । विदेशीका लागि उचित सुरक्षाको व्यवस्था पनि मिलाइएको छैन ।

नेपालको भौगोलिक अवस्था अप्ठ्यारो भएकाले पर्यटकका लागि सहज हुने गरी पर्यटनमार्गहरु विस्तार गर्न सकिएको छैन । जसले गर्दा अपेक्षाकृत पर्यटकको संख्या बढ्न सकेको छैन । भौगोलिक जोखिमताका कारण कतिपय विदेशी पर्यटकको ज्यान जाने गरेका घट्नाहरु घटिरहन्छन् । यसमा सरोकारवाला र सरकारको ध्यान दिन जरुरी छ ।

पर्यटन मुलुकको विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत हो । पर्यटन व्यवसाय खस्किएसँगै विदेशी मुद्रा नभित्रिँदा अर्थतन्त्र प्रभावित बनेको छ । नेपालको मुख्य आम्दानीको स्रोत भनेको पर्यटन नै हो भन्नेमा दुईमत छैन । पर्यटनको अथाह सम्भावना बोकेको मुलुकमा यसको विकास र प्रवद्र्धनका कुरा धेरै गरिन्छ । तर, प्रभावकारी काम हुन सकेको देखिँदैन ।

पर्यटकका लागि आवश्यक आधारभँत कुराहरुदेखि उनीहरुको सेवा सुविधाका कुरामा सरकारको ध्यान जानै पर्छ । किनभने, स–साना कुराले पनि पर्यटकलाई प्रभावित पार्न सक्छ । पर्यटकलाई नै हामीले राम्रो व्यवहार गर्न सकेनौं, उनीहरुलाई राम्रो सत्कार गर्न सकेनौं भने यो क्षेत्रलाई माथि उठाउन निकै चुनौती हुने निश्चित छ । अहिले नेताहरुले नेपाल श्रीलंका हुन्छ भनिरहेका छन् । देशलाई बचाउन बेलैमा सोच्न आवश्यक छ । विदेशी मुद्राको मुख्य स्रोत पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न योजना ल्याउन आवश्यक छ ।

पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न उनीहरुका लागि विभिन्न सहुलियतका प्याकेजहरु ल्याउन सके पर्यटक आगमन बढाउन सकिन्छ । यसका लागि पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा सरकारले काम गर्नुपर्छ । पर्यटन व्यवसायीहरुले पनि तत्कालको फाइदामात्र हेर्नेभन्दा दीर्घकालीन पर्यटन विकासमा ध्यान दिन आवश्यक देखिन्छ ।

पर्यटकबाट एकैपटक धेरै रकम लिएर फाइदा लिने भन्दा पनि उनीहरुलाई फेरि नेपाल आउने वातावरण निर्माणमा पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटकलाई खुसी बनाएर पठाएको खण्डमा उनीहरु दोहोरिएर नेपाल आउँछन् । जसको फाइदा व्यवसायी र मुलुककै लागि हो ।

यसका साथै, त्यसरी आउने पर्यटकलाई अरुलाई पनि नेपाल आउन प्रेरित गर्ने छन् । ‘अतिथि देवो भवः’ भन्ने नेपाली उक्तिलाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने पर्यटन प्रवद्र्धनमा हामीले त्यति ठूलो मिहेनत गर्नुपर्ने छैन । यसबाट मुलुकले चौतर्फी लाभ उठाउन पाउनेछ । -राजन राई, कुलेश्वर

तपाईको प्रतिक्रिया