मेरिगोल्ड ओभरसिजविरुद्ध मुद्दा: करिब २ करोड ठगी गरेको अभियोग

प्रकाशित मिति :  22 पटक हेरिएको

काठमाडौं– वैदेशिक रोजगार विभागले युरोपेली मुलुक युक्रेनलगायत देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने एक म्यानपावरका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । एक करोड ८६ लाख १५ हजार २०० रुपैयाँ ठगी गरेको अभियोगसहित मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालकविरुद्ध विभागले मंगलबार वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको हो ।

उक्त कम्पनीले आकर्षक तलब सुविधासहित युक्रेनलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भनी राजेन्द्र डोटेलसमेत ३८ जनाबाट उल्लिखित रकम ठगी गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ । डोटेलसहितका पीडितहरुले दिएको जाहेरीको आधारमा अनुसन्धान हुँदा म्यानपावर कम्पनी र यसका सञ्चालकहरुबाट ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ ।

युक्रेनलगायतका मुलुकमा आकर्षक तलब सुविधाको प्रलोभन देखाएर पैसा लिई वैदेशिक रोजगारीमा नपठाएको र लिए खाएको रकम पनि फिर्ता नगरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

विभागले दायर गरेको मुद्दामा प्रतिवादी मेरिगोल्ड ओभरसिज प्रालि, यसका सञ्चालक रविन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला, यामबहादुर क्षेत्री र कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ विपरीतको कसूर गरेकोले सोहीबमोजिमको सजाय हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै गणेशप्रसाद मैनाली, सुरज कार्की, र दिपेश गुप्तालाई पनि सोही ऐनको दफा ४३ बमोजिम सजाय हुनुपर्ने माग गरिएको छ ।प्रतिवादीहरुबाट ठगी भएको पुष्टि हुन आएको भन्दै विभागले ठगिएको रकम र सो रकमको ५० प्रतिशतले हुन आउने हर्जनासमेत जोडी दुई करोड ७९ लाख २२ हजार ८०० रुपैयाँ पीडितलाई दिलाइ पाउनुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ ।

म्यानवार कम्पनी, यसका सञ्चालक र कर्मचारीसहितले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पैसा लिएर आफूहरुलाई विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेको भन्दै पीडितहरुले जाहेरी दिएको विभागका सूचना अधिकारी एवं निर्देशक कृष्णप्रसाद भुसालले बताए । सोही उजुरीका आधारमा आवश्यक छानबिन गर्दा कसुर पुष्टि हुन आएको र अभियोग प्रतिवेदन तयार पारी विभागले मंगलबार मुद्दा दायर गरेको भुसालले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया