नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक आज

प्रकाशित मिति :  21 पटक हेरिएको

काठमाडौं– वैदेशिक रोजगारसम्बन्धी जापानसँग गरिएको श्रम सम्झौता अनुसार नेपाल–जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकहरुलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल र उपयुक्त निर्णयका लागि संयुक्त बैठक बस्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी बैठकमा श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिएको छ । जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको एक प्रतिनिधिमण्डलले बैठकमा सहभागिता जनाउने विज्ञप्तिमा उल्लेख छ ।

नेपालीहरुलाई रोजगारी दिने विषयमा संयुक्त वैठकबाट भएको छलफल र निचोडलाई निर्णयका लागि नेपाल र जापानका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेपाल सरकारले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपालीहरुलाई जापानमा रोजगारीको अवसर दिने गरी सन् २०१९ को मार्चमा श्रम सम्झौता गरेको थियो ।

सम्झौता अनुसार जापनिज भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेको नेपालीहरुले विभिन्न १४ वटा पेसागत क्षेत्रमा रोजगारीका अवसर पाउने उल्लेख छ । श्रम सम्झौता अनुसार नै हाल जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेस्टुरेण्टहरुमा करिब ८५० जना नेपालीले रोजगारीको लाभ लिइरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले जापनसँग गरेको श्रम सम्झौता अनुसार रोजगारीका लागि जाने नेपाली जनशक्तिलाई दुई समूहमा वर्र्गीकरण गरिएको छ । जसमा पहिलो समूहका कामदारले भाषा, सीप वा सम्बन्धित कार्य क्षेत्रको अनुभवका अधारमा रोजगारी पाउने छन् । उनीहरुलाई बढी पाँच वर्षको रोजगारी समय निर्धारण गरिएको छ ।

त्यस्तै दोस्रो समूहका कामदारलाई भाषासहित उच्च तहको सीप अनिवार्य गरिएको छ । उनीहरुलाई आफ्ना परिवारका सदस्यलाई समेत जापान लैजान पाउने सुविधा दिइएको छ ।

तपाईको प्रतिक्रिया