काङ्ग्रेसका प्रवक्ता महतकाे निर्वाचन क्षेत्र कता ?

प्रकाशित मिति :  84 पटक हेरिएको

काठमाडौं‌ – नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रत्यक्षबाट निर्वाचन लड्ने बताएका छन्। बिहीबार नुवाकोटका पत्रकारहरूसँग आफ्नै निवासमा कुराकानी गर्दै प्रवक्ता महतले सो कुरा बताएका हुन् ।

पत्रकारहरूले निर्वाचन आउँदै छ, तपाईको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोटको १  भन्ने प्रश्नमा उनले  सल्लाह  चलिरहेको र साथीहरूको सद्भाव रह्यो भने जाने मनसाय रहेकाे बताएका छन‍् ।

काठमाडौं‌ क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा महतले गृह जिल्लाबाटै निर्वाचन लड्ने मनसायसमेत राखेका छन् ।महतले  यस पटक भने आफू प्रत्यक्ष निर्वाचन लड्ने प्रस्ट पारेका छन् ।

‘मेरो पहिलो प्राथमिकता प्रत्यक्षमै चुनाव लड्ने हो र जितेर संसद्मा जाने गरी नै तयारी गरेको छु,’ महतले भने। नुवाकोटमा थप विकासका लागि पनि आफ्नो आवश्यकता रहेको महतको भनाइ थियो।

पूर्व अर्थमन्त्री रामशरण महत स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नजाने बताइएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रूपमा देखिएका हुन्।

अरूले टिकट पाए पनि असहयोग गर्ने पक्षमा आफू नरहेको महतको भनाइ थियो । पछिल्लो स्थानीय निर्वाचनमा केही तालमेल नमिलेको उनले स्वीकारेका छन्।

नुवाकोट क्षेत्र १ बाट माओवादीका हितबहादुर तामाङले चुनाव भिड्ने तयारी गरिरहेका छन्। महतले सङ्घ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने गरी अघि बढिरहेको बताए। पाँच दलीय गठबन्धन भएमा भने महत काठमाडौँ ५ बाट भिड्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया